मुख्य समाचार

सचिवालय बैठक बोलाउने तयारीमा प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र दुई अध्यक्षबीच संवाद टुटेपछि सचिवालय वैठक बोलाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद टुटेसँगै सचिवालय बैठक बोलाउने विषयमा शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ ।

कार्यकारी अध्यक्षसंग दुरी घटाउन प्रधानमन्त्री ओलीले निकट नेताहरुलाई खुमलटार पठाएपनि प्रचण्डले सचिवालय बैठक बोलाउने तयारी गरेको स्रोतको दावी छ । कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा पछिल्लो समय देखिएको समस्याबारे छलफल गर्न सचिवालयको वैठक बोलाउने विषयमा नेताहरुसंग छलफल गरेका खुमलटार निकट स्रोतले जनायो ।

सचिवालयका सदस्य समेत रहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको वैठक बोलाउने पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका स्रोतको दावी छ । सचिवालय सदस्यहरु झलनाथ खनाल,माधव नेपाल, वामदेव गौतम र श्रेष्ठले कार्यकारी अध्यक्ष प्रचण्डलाई सचिवालय वैठक चांडो बोलाउन माग गरेपछि वैठक वस्ने तयारी भएको हो ।

नेकपा विवाद मिलाउन गठित कार्यदलको प्रतिवेदन र भदौ २६ को स्थायी समितिको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री अनिच्छुक देखिएको र कर्णाली प्रदेश सरकारको हकमा समेत भएको निर्णयविपरित उनका सल्लाहकारबाट गलत वक्तव्यवाजी भएको भन्दै दुई अध्यक्षबीचको सम्बन्ध विग्रेको थियो । भदौ २६ को स्थायी समिति वैठकले दुवै अध्यक्षको सल्लाहमा पार्टी र सरकार चलाउने, विधि, विधान र पद्धतिको समेत ख्याल गर्दै अघि बढ्ने निर्णय भएपनि प्रधानमन्त्री ओलीले सहमति विपरित राजदूत र मन्त्री नियुक्ती एकलौटी रुपमा गरेको भन्दै नेकपाभित्र तिव्र असन्तुष्टी छ ।

त्यसपछि भारतीय गूप्तचर संस्था रअका प्रमुखको नेपाल भ्रमण, वीरगंज प्रकरण र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई प्रमुख सचेतकमाथी कार्वाही फिर्ता लिन एकल हस्ताक्षरमा पत्र पठाएसंगै दुवै अध्यक्षको सम्बन्धमा चिसोपना आएको छ ।

दुवै अध्यक्षबीच संवाद बन्द भएसंगै सहमतीको लागी प्रधानमन्त्री ओली पक्षिय नेताहरु अहिले चर्को दौडधुपमा छन् । नेकपा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य,सुवास नेम्वाङ र अर्का नेता शंकर पोखरेल दुवै अध्यक्षलाई सहमतिमा आउंन आग्रह गरिरहेका छन् । उनिहरुले कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर दुवै अध्यक्ष मिल्नुको विकल्प नभएको भन्दै सहमतीका लागी आग्रह गरेको स्रोतको दावी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *