भैरहवा । नेपालको कुटनीतिक तहमा भारतले हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै अघि बढेको आरोप भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले लगाए । प्रेस यूनियन कपिलवस्तुले आज बिहीबार आयोजना गरेको पत्रकार भेटघाट पूर्वराजदूत उपाध्यायले भने, ‘चर्को राष्ट्रवादको भाषण उराल्ने वर्तमान सरकार कुटनीतिक पहलमा भने असफल भएको छ । सरकार आफ्ना दुई ठूला छिमेकीसँग कुटनीतिक सम्वन्ध मजबुत बनाउन चुकेको छ ।’
नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वराजदूत उपाध्यायले भाषण र उखान टुक्कामा मात्रै राष्ट्रवाद झल्काउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहना अनुरुप काम गर्न नसकेको बताए । कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको उनको आरोप छ । जनअपेक्षा भन्दा सरकार पार्टीभित्रको विवादमा रुमलिएको पूर्व राजदूत उपाध्यायले बताए ।




