मुख्य समाचार

चौरसिया हत्या प्रकरणः सत्तारुढ दल नेकपामा प्रतिशोधको राजनीति शुरु

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र प्रतिशोधपूर्ण राजनीति शुरु भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिचको एकताबाट बनेको सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद पछिल्लो समयमा प्रतिशोधपूर्ण बन्दै गएको हो ।

पार्टी एकता घोषणा भएको साढे दुई वर्षभन्दा हुन लाग्दा समेत कतिपय कमिटीहरूमा विवादका कारण एकताको काम टुङ्गोमा पुग्न सकिरहेका छैनन् । पार्टी केन्द्रमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह तथा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षबिचको विवाद कर्णाली प्रदेश र दुई नम्बर प्रदेशमा आइपुग्दा प्रतिशोधमा परिणत भएको हो ।

केन्द्रमा विवाद बढिरहेका बेला गत साता पर्सामा नेकपाका कार्यकर्ता मुकेश चौरसिया नेकपाकै कार्यकर्ताको आक्रमणबाट मारिएका छन् । पतिको हत्यापछि उनकी श्रीमती सुनिता न्यायका लागि हारगुहार गरिरहेकी छन् । पति कार्यकर्ता भएको पार्टी नेकपा यति बेला केन्द्रसहित देशका ७ मध्ये ६ वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ । तर, सुनिताको गुहार सुनिदिने कोही देखिएको छैन ।

पर्सा घटनाका दोषीलाई कारबाही गर्न नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैले विज्ञप्ति निकालेर माग गरी सक्दा समेत दोषी पत्ता लगाउनु त कता कता प्रहरीले किटानी जाहेरी समेत लिन नमानेको अवस्था छ । दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्ड र एक पटक प्रधानमन्त्री भएका नेपालले विज्ञप्ति नै निकालेर दोषीमाथि कारबाहीको माग गर्दा पनि प्रहरी प्रशासन हत्याजस्तो जघन्य अपराधको उजुरी समेत लिन नमानी रहेको अवस्था छ ।

प्रहरीले नेकपा नेता राजकुमार गुप्ताको नाम हटाएर जाहेरी लिएर आए मात्रै जाहेरी लिने जनाएको छ । जब पीडित परिवारले दोषी किटान गरेका व्यक्तिलाई प्रहरी प्रशासन नै जोगाउन किटानी जाहेरीमा उनको नाम हटाएर ल्याउन भन्छ भने त्यहाँ शङ्का गर्नुपर्ने प्रशस्त ठाउँ छ कि यो हत्याको पछि कुनै न कुनै ठुलै शक्ति केन्द्रको हात र गडबडी छ भन्ने अनुमान लाउन गाह्रो छैन । राजनीतिका नाममा गुण्डागर्दी र सत्ताको आडमा अपराधमा उन्मुक्ति मिल्छ भनेर पर्सा घट्न मार्फत किन सन्देश दिने काम भइरहेको छ ।

पार्टीभित्र गुटगत स्वार्थका लागि कसरी सहकर्मीको हत्यासम्म गरिन्छ भन्ने समेत यो घटनाले उदाङ्गो पारिदिएको छ । यति यो घटना पूर्वनियोजित छैन र होइन भने अपराधीलाई संरक्षण पार्टीबाट गरिएको छैन भने चौरसियाका हत्यारालाई कानुनी दायरामा ल्याउन किन हिचकिचाहट भएको हो भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ । चौरसियाका हत्यारालाई कानुनी दयाराम ल्याएर आम कार्यकर्ता र जनतालाई आश्वस्त बनाउने काम प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पनि हो ।

मुकेश चौरसियाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै नेकपाका एक थरी नेता कार्यकर्ता दिनहुँ प्रदर्शनमा छन् । नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा पार्टीकै दुई समूहबिचको विवादपछि भएको झडपमा परी घाइते भएका चौरसियाको वीरगन्जस्थित न्युरो हस्पिटलमा गत शुक्रवार मृत्यु भएको हो । उनको शव अझै पोस्टमार्टम हुन सकिरहेको छैन र नारायणी अस्पतालमा राखिएको छ ।

चौरसिया पूर्व माओवादी समूहका नेता तथा पूर्व मन्त्री मातृका यादव निकट भएकै कारण उनको हत्या गरेको नेकपाका कार्यकर्ताले बताउने गरेका छन् । उनी नेकपाको गाउँपालिकाका सचिव र जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रहेका थिए । मुकेशको हत्यापछि घटना भएकै दिन प्रहरीले पूर्व सभासद् एवं तत्कालीन नेकपा एमालेका नेता राजकुमार गुप्तासहित ८ जनालाई पक्राउ समेत गरेको थियो । तर, केही बेरमै गुप्तासहितका ५ जनालाई छोडियो भने अहिले हनिफ मियाँ, देवा सहनी र शोकदीन गद्दीलाई मात्र हिरासतमा लिइएको छ ।

शपथ ग्रहणको कार्यक्रम बिथोल्नका लागि आएका गुप्ता पक्षका उत्तम तिवारी र चिन्टु तिवारी घाइते भएर अस्पतालमा उपचार गराइरहेका बेला अस्पतालबाटै फरार भएका छन् । प्रहरी भने उनीहरुविरुद्धको किटानी जाहेरी लिन मानिरहेको छैन । दोषीमाथि कानुनी कारबाहीका लागि लगातार धर्ना र विरोध प्रदर्शन भइरहेको छ । जसमा नेकपा पर्साका इन्चार्ज रामचन्द्र साह, प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरी, पर्साका सचिव विजय महतोसहित जिल्ला र प्रदेश कमिटीका नेता कार्यकर्ताका साथै पूर्वमन्त्रीहरु मातृका यादव र सुरेन्द्र पाण्डेसमेत सहभागी भइरहेका छन् ।

९ कात्तिकमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले विज्ञप्ति नै निकालेर हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका थिए । तर नेकपाकै अर्का अध्यक्ष केपी ओली नेतृत्वको सरकार र नेकपाका सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा भने यो काण्डमा अझै मौन देखिनुलाई झनै रहस्यका साथ हेरिएको छ । पार्टीकै कार्यकर्ताको हत्या भएको घटनामा पार्टीकै एक तप्का मौन हुनु अर्को आश्चर्यको विषय त छँदै छ । तर पार्टीभित्र गुटगत स्वार्थका लागि कसरी सहकर्मीको हत्यासम्म गरिन्छ भन्ने समेत यो घटनाले उदाङ्गो पारिदिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *