काठमाडौं । बारामा स्थानीय वासिन्दा र प्रहरीबीच भएको झडपमा तीन प्रहरी र एक १४ बर्षीय किशोर घाइते भएका छन् । बाराको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा भारतबाट तस्करीका सामान लिएर आउदै गरेका स्थानीय वासिन्दाहरुलाई प्रहरीले रोक्न खोज्दा उनीहरुबीच झडप भएको हो । बारा प्रहरीका अनुसार स्थानीय बासिन्दाहरुले दर्जनौ मोटरसाइकल प्रयोग गरेर प्याज लगायतका सामानहरु तस्करी गरेको थाह पाएपछि प्रहरीले रोक्नखोज्दा झडप भएको हो ।
जिल्ला प्रहरी बाराका प्रमुख एसपी कृष्ण पंज्ञेनीका अनुसार झडप हुँदा तीन प्रहरी र एक बालक रञ्जन यादवसहित चार जना घाइते भएका हुन् । प्रहरीले आत्मरक्षाका लागि गोली चलाउदा यादवलाई गोली लागेको थियो । उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीतर्फ घाइते भएका सई विरेन्द्र गिरीसहित तीन जनाको कलैया अस्पतालमा उपचार भइरहेको छ । कृष्ण पंगेनीले प्रहरीले आत्मसुरक्षाका लागि अन्तिम अवस्थामा हवाई फायर गर्दा एक बालक घाइते बताएका छन् ।
उनका अनुसार स्थानीयले गएराति भारतबाट मोटरसाइकलमा प्याज ओसारेका थिए । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा लुकिछिपी प्याज ओसार्ने र बिक्री बढिरहेको छ । ‘बुधबार राति प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्र नजिकै रहेको नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लियो, उनीहरुलाई छुटाउन सयौको संख्यामा स्थानीयहरु आएर प्रहरीमाथि आक्रमण गरे त्यसक्रममा हवाइफायर गर्नुपरेको हो’, एसपी पंज्ञेनीले भने । स्थानीयहरुले प्रहरीमाथि आक्रमण गर्नुका साथै गाडी र मोटरसाइकल तोडफोड गरेका थिए । त्यसक्रममा प्रहरीले १२ राउण्ड हवाई फायर गरेको थियो ।




