काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारको फाइल खोल्न सरकारसँग आग्रह गरेका छन् । ठूला भ्रष्टाचार काण्डको गहिरो छानविन गरी कारवाही गर्न सिंगो देशले माग गरिरहेको उनले बताए ।
वाइड बडी जहाज खरिदमा भएको अनियमितता, लडाकुको राशनमा भएको घोटलाको छानविन गरिनुपर्ने शर्माले बताए । उनले बिहीबार टुइटमार्फत् भनेका छन्, ‘‘वाइड बडी ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट र लडाकुको राशनसमेतको फाइल खोलेर छानबिन होस् ।’
उनले गत मंसिरमा कांग्रेसले तयार पारेर प्रकाशित गरेको बूढीगण्डकी आयोजनाबारेको छोटो भिडिओ पनि ट्वीट गरेका छन् । हालै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्कमल दाहाल तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बूढीगण्डकीमा ९ अर्ब कमिसन बाँडेर खाएको र त्यसको प्रमाण पेश गर्न परे आफू तयार रहेको बताएका थिए।
त्यसपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कांग्रेस प्रवक्ता शर्माले विज्ञप्ति निकालेर भट्टराईलाई उक्त आरोप पुष्टि गर्न चुनौती दिएका थिए। भट्टराईले भने छानविनका लागि उच्चस्तरीय र निष्पक्ष छानविन समिति बनाउनुपर्ने माग गरिरहेका छन्।




