मुख्य समाचार

हुम्लामा कम्युनिस्ट सरकारको गम्भीर राष्ट्रघात !

काठमाडौं । हुम्लामा कम्युनिष्ट सरकारले गम्भीर राष्ट्रघात गरेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको छ । हुम्लामा ‘चीनले सिमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सिमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको बिषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, सदरमुकाम सिमिकोटबाट ५० कोषमा रहेको नाम्खाको लिमिमा चीनले नेपालको सिमाना मिचेको चर्चा देशको राजधानीमा आइपुग्दा सरकारले ‘सिमा मिचिएको छैन’ भनेर परराष्ट्रमार्फत धारणा सार्वजनिक गरेको थियो भने प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेसले ‘यस्तो प्रश्नमा हतारोमा टिप्पणी गर्नु गलत हुने अतः स्थलगत अध्ययनको प्रतिवेदन पश्चात् टिप्पणी गर्नु जिम्मेवार र परिपक्व हुने’ धारणा सार्वजनिक गरेको थियो ।’

‘हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि असोज १४ गते कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुग्यो । चीनसंगको सिमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सिमाक्षेत्रमा सो टोलीले ११ दिन लगाएर गरेको अध्ययन (प्रतिवेदन यहि वक्तव्य साथ संलग्न छ) को निष्कर्ष छ नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको छ ।

दुई किलोमीटर भूमि अतिक्रमण हुंदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छंदै ‘सिमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सिमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ, प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिमा अतिक्रमण उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणीबाट, हामीलाई दुवै अस्वीकार्य छ, विज्ञप्तिमा भनिएको छ, ‘हुम्लाको सिमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको बिषय हो । झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ । नेपाली कांग्रेस तत्काल धारणा सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दै, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकार समक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कुटनैतिक संवाद मार्फत हल खोज्ने प्रक्रिया अविलम्ब सुरु गर्न माग गर्दछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *