काठमाडौं । तत्कालिन दुई ठूला पार्टी नेकपा एमाले र माओवादी केन्द्र एकिकरण भएको साढे दुई वर्ष भैसक्दा पनि अहिलेसम्म एकता प्रकृया टुंगिएको छैन । गत असोज ६ गते बसेको नेकपा सचिवालय बैठकले पार्टी एकताको बाँकी काम दश दिनभित्र सम्पन्न गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको भएपनि अहिलेसम्म त्यसको खाका तयार हुन सकेको छैन । असोज १६ मै यसको म्याद सकिएपछि अहिले दुई अध्यक्ष म्याद गुजारेर बसेका छन् ।
असोज १६ पछि पनि दुई अध्यक्षद्वयबीच पार्टी एकताको बाँकी काम टुंग्याउने विषयमा दर्जनौं पटक छलफल भइसकेको छ । तर निष्कर्ष निस्किएको छैन। ‘तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको साँढे दुई वर्ष पुग्न लाग्दासमेत सांगठनिक एकताको कामले पूर्णता नपाएपछि सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुंग्याउन अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो , तर अहिलेसम्म कुनै टुंगोमा पुर्याउन सकेका छैनन’, नेकपा एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार पहिला मन्त्रिपरिषद पुनर्गठन कि पार्टी एकताको बाँकी काम टुंग्याउने भन्ने विषयमा सहमति जुट्न नसक्दा दुवै काम रोकिएका छन्। प्रधानमन्त्री ओली पहिला मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्षमा छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको बाँकी काम टुंग्याउनु पर्ने पक्षमा छन् । दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद पुनर्गठन र मन्त्रिपरिषद पुनर्गठन अन्योलमा परेको छ ।
२०७४ असोज १४ गते चुनावी तालमेलको घोषणा गरेका तत्कालीन नेपाल कम्यनिष्ट पार्टी (एमाले) र तत्कालीन माओवादी केन्द्रबीच चुनावपछि पार्टी एकीकरण भएको थियो। एकीकरणका क्रममा नेकपाले तीन महिनाभित्रै सबै तहको सांगठनिक एकता सम्पन्न गर्ने बताएको थियो । एकीकरण भएको लामो समय बितिसक्दा पनि सांगठनिक एकताको काम भने अझै सकिएको छैन। पछिल्लो एक वर्षयता नेकपाले पार्टीको कामलाई प्राथमिकता नै दिएको छैन । गत वर्ष पुसमा सम्पन्न नेकपा स्थायी कमिटीको बैठक र माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले १५÷१५ दिनभित्र सांगठनिक एकताको काम सम्पन्न गर्ने निर्णय गरेका थिए । तर, बैठकहरूले गरेको निर्णयलाई नेकपाले अझै कार्यान्वयनमा ल्याउन सकेको छैन ।
गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा पार्टी एकीकरणका बाँकी काम असोज महिनाभित्र सम्पन्न गर्ने, केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्युरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखसमेत एकीकरण सम्पन्न गर्ने निर्णय गरेको थियो । तर, स्थायी कमिटी बैठकले निर्णय गरेयता संगठन विभागले एक पटक मात्रै बैठक बसेर सामान्य छलफल गरेको छ । अध्यक्षद्वय र महासचिवबाट पार्टी एकताको सांगठनिक प्रतिवेदन निर्माण ढिलाइ भएसँगै आगामी चैतमा तोकिएको नेकपाको एकता महाधिवेशन प्रभावित हुने देखिएको छ ।
नेकपाको संगठन विभागको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने निर्णय गरेको थियो । तर, असोज अन्तिम नजिकिँदा पनि संगठन विभागले काम नै सुरु गरेको छैन। यसअघि नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले चैत मसान्तभित्रै नवीकरण सक्ने निर्णय गरेको थियो । त्यो निर्णय पनि निरर्थक देखिएको छ। दिनदिनै बालुवाटार धाएरै समय बिताइरहेको देखिन्छ । गत असोज २० गते बसेको सचिवालय बैठकमा संगठन विभागले पार्टीको संरचान सम्बन्धी केही खाका पेश गरेपनि त्यसको विषयमा कुनै छलफल भएको छैन । पार्टी उपाध्यक्ष एवं संगठन विभाग प्रमुख रहेका वामदेव गौतमले सो खाका पेश गरेका थिए ।




