मुख्य समाचार

‘वार्ता गर्न आलटाल, डा.के.सी. का लागि कात्रो पठाउने सरकारको तयारी हो ?’

काठमाडौं । गुणस्तरीय चिकित्सा सेवाको माग राखेर विगत २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने कुनै तयारी गरेको छैन । सरकारले वार्ताबाट समस्याको समाधान नखोजेर सत्याग्रही डा. केसीको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘डा. गोविन्द के.सी. अनशनमा बस्नु भएको आज २४ दिन पुग्यो । वार्ता समितिसम्म गठन गरिएको छैन । कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नु हुन्थ्यो त्यो स्वभाविक थियो, अब अनशनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ । खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि— लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ ?’

वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेसको पालामा डा. के.सी. अनशन बस्दा, वार्ता गरिए, कयौं माग पूरा गरिए । चाहे सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएर होस् या शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस, संवाद मार्फत उहाँका माग पूरा गरिए । तर यहाँले उसबेला पूरा गरिएका माग एकातर्फ उल्टाउनु भयो अर्कातर्फ नयाँ सन्दर्भमा अघि सारिएका मागबारे संवादमार्फत समाधान खोज्ने लोकतान्त्रिक संस्कार यहाँमा भएन । सत्याग्रहीलाई दुव्र्यवहारदेखि, सत्ताको अहंकारसम्मले कम्युनिष्ट तन्त्रको मनोबिज्ञानलाई मात्रै पुष्टि गरेका छन् ।’

‘डा. के.सी.को स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू ! हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. के.सी. को जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्’ प्रवक्ता शर्माले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *