काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा आज शुक्रबार पनि टुंगिएन । अब उनको मुद्दा बुधबार मात्र सुनुवाई हुने भएको छ ।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि गत बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भएको छ ।
बुधबार नसिकएपछि शुक्रबारका लागि सारिएको सुनुवाई अदालतको समय सकिएपछि फेरि बुधबारका लागि सरेको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।




