मनोरञ्जन

चर्चामा झापाका यी तीन कलाकार

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा झापाका तीन कलाकार चर्चाको शिखरमा छन् । चर्चामा रहेका तीन कलाकार हुन्– रमेश प्रसाई, अमित राई (जन्तेर मामा) र एलिना चौहान । उनीहरुको चर्चाको मानक युट्युब हो, उनीहरुले गाएको गीत यतिबेला युट्युबमा सर्वाधिक रुचाइएकोमा परेको छ ।

सामाजिक अभियान्तासमेत रहेका रमेशले मेलम्चीकी कल्पना दाहालसँग गाएको दोहोरी गीत अहिले युट्युबको टे«डिङ १ मा छ । इन्द्रेणी कार्यक्रममा गाइएको उक्त दोहोरीको भाकासहित उनीहरुको गायन क्षमतालाई सर्वाधिक रुचाइयो ।

जीवनको उत्तराद्र्धमा काठमाडौं आएर ‘फुलैफुलको सौगात तिमीलाई’ बोलको एउटा गीत रेकर्ड गराएर झापा फर्किएका जन्तरे मामा लोकप्रियताको शिखरमा छन् । जति पाका छन्, उनी त्यत्तिनै खारिएको स्वरमा श्रोतालाई मन्त्रमुग्ध बनाउने क्षमता राख्छन् ।

पछिल्लो समय युवा पुस्तामा छाएकी एलिना चौहानका जति गीत छन्, ती सबै लोकप्रियका शिखरमा छन् । त्यसमध्ये निशान भट्टराईसँग गाएको ‘के माया लाग्छ र’ शीर्षको बोलको गीतले एलिनालाई नयाँ उचाइ दियो ।

झापाका यी तीन गायकका पृष्ठभूमि फरक छ । सामाजिक अभियान्ताका रुपमा परिचित प्रसाईंसँग गायनमा पनि क्षमता राख्छन् भन्ने थोरैलाई मात्र थाहा थियो । तर मेलम्चीकी कल्पना दाहालसँगको दोहोरीमा रमेशको स्वर र प्रस्तुतिलाई दर्शक र श्रोताले औधी मन पराए ।

कल्पनासँगको दोहोरी सुनिसकेपछि धेरैले रमेशलाई सामाजिक अभियानसँगसँगै गायन क्षेत्रमा पनि हेर्न रुचाएका छन् । दर्शक र श्रोताको यो रुचिलाई उनले कसरी लिन्छन, त्यो उनैमाथि निर्भर रहन्छ, तर एउटा कुरा पक्का हो– उनी बहुमुखी प्रतिभाका धनी हुन् ।

उमेरले झन्डै आधा शताब्दी पुगेका जन्तेर मामाको कथा त्यस्तै दर्दनाक छ । यो उमेरसम्म उनको प्रतिभाले किन प्रस्फुटन हुन पाएन भन्ने एउटै प्रश्नले धेरैको मन खट्किएको छ । उनको कर्णप्रिय स्वरले श्रोताको मन जितेको छ । आउँदा दिनमा उनीबाट अझ परस्कृत र लोकप्रिय गीतको आशा संसारभरिका नेपाली गीत संगीत मन पराउने दर्शक श्रोताले गरेका छन् । हेरौं उनका सुखद् दिन अब कसरी अघि बढ्ने छ ।

नयाँ पुस्तामाँझ लोकप्रिय एलिनाको गायन प्रशंसा जति गरे पनि कम हुन्छ । एलिना जस्तो गीतलाई पनि मौलिकता दिएर गाउन सक्छिन् भन्ने प्रमाणित भइसकेको छ । कम उमेरमै खारिएको प्रतिभा प्रस्तुत गर्न सफल एलिनाको मेहनत र लगनशीलताले प्रतिफल दिन अझ केही समय पक्कै लिन्छ, तर त्यत्तिबेलासम्म उनको परिस्कृति रुपले संसार ढाकिसकेको हुनेछ ।

गायन क्षेत्रमा लाग्दा उनीहरुले गरेको संघर्ष यहाँ प्रस्तुत गर्न खोजिएको विषयवस्तु होइन । तर यी तीन कलाकारले पु¥याएको योगदानले नेपाली गीत संगीत क्षेत्रलाई नयाँ उचाइ दिनेछ भन्ने कुरामा कसैको दुई मत नरहला ।

झापाली यी तीन गायकलाई कसैसँग दाँज्न मिल्दैन । उनीहरुको छुट्टै पहिचान छ । नेपाली गीत संगीतिको बेग्लै पहिचान बोकेका यी तीन गायकलाई अरुसँग दाँजेर कद घटाउने दुस्प्रयास कसैले नगरे हुन्छ ।

‘पूर्वमा लोक गायन मरेको छैन, सुतेको थियो, अब ब्युझिदैछ’ भन्ने रमेश प्रसाईको अभिव्यक्तिलाई अमित राई र एलिना चौहानको ‘कोपिलाजस्तो जोवान’ शीर्ष बोलको गीतले थप मलजल गरेको छ । युट्युबमा राखेको २४ घन्टा नबित्दै लाखौं दर्शकको रोजाइमा पर्नु पूर्वमा लोक सांगीतिक ब्युझिन थाल्यो भन्ने ज्वलन्त प्रमाण हो ।

हेर्दै जाऊँ यी तीन कलाकारको कर्णप्रिय स्वर कति दर्शकको आँखामा अडिन्छ, कतिको कानमा ठोकिन्छ त्यो समयले बताउँला, तर त्यसभन्दा अघि यी प्रतिभालाई क्षेत्रीयताको साँघुरो घेरामा कसैले धकेल्न दुस्प्रयास गर्छ भने त्यो मुर्खतासिवाय केही हुने छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *