काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा लगाइएको निषेज्ञालाई खुकुलो पार्ने विषयमा गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुसँग परामर्श गर्ने भएको छ । जारी निषेधाज्ञालाई निरन्तरता दिने वा अन्त्य गर्ने भन्ने निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालयलाई नै अनुरोध गरेपछि मन्त्रालयले उनीहरुसँग परामर्श गर्ने भएको हो ।
मंगलबार काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङ बसेर सुझावसहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाएका थिए । मन्त्रालयले निषेधाज्ञाको मोडालिटीबारे छलफल गर्नेछ । तीनवटै प्रशासनले निषेधाज्ञालाई निरन्तरता दिने नदिनेबारे आ–आफ्ना जिल्लाका स्थानीय तह, स्वास्थ्य कार्यालयसहित स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सरोकार निकायसँग लिखित राय लिइसकेका छन् । उद्योग मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड अपनाएर उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने राय दिएको छ । तर, स्थानीय तहहरुले अझै केही साता निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन् ।
भदौ तीन गते मध्यरातिदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो । पहिलो पटक भदौ १० गतेसम्म कायम गरिएको निषेधाज्ञा अवधिलाई भदौ ९ गते बसेको तीन जिल्लाकै सुरक्षा समिति बैठक १७ गते रातिसम्मलाई थपेको थियो ।




