काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्म भूमि चितवनको माडी नै रहेको भन्दै त्यहाँ मन्दिर बनाउन भनेका छन्। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। माडीका मेयर ठाकुर प्रसाद पौडेलले भने, ‘हामीले आज प्रधानमन्त्री ज्यूसँग रामको जन्म भूमिबारे कुरा गरेका छौं। उहाँले रामको जन्म भूमि साविकको अयोध्यापुरी गाविस नै भएको बताउनु भयो।’
प्रधानमन्त्री ओलीले आगामी वर्षको रामनवसीसम्म अयोध्यापुरीमा राम, सीता र लक्ष्मणको मन्दिर तथा मूर्ति अनावरण हुनेगरी काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै मेयर पौडेलले भने, ‘बजेटको चिन्ता नगर्नुहोस, त्यहाँ मन्दिर बनाउनुहोस्, रामधामकै रुपमा विकास गर्नुपर्छ।’
पौडेलका अनुसार प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा उत्खनन गर्नुपर्ने र समग्र विकासका लागि मास्टर प्लान बनाउनसमेत भनेका छन्। प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नाम अयोध्यापुरी राख्नसमेत सुझाव दिएको भन्दै पौडेलले आफूहरुले नगरसभामा सहमति भए सो नाम राख्ने बताएको जानकारी दिए।
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले हालै आगे लगाइएको चेपाङ वस्तीको समस्या पनि छिटै समाधान गरिने बताएका छन्। जनप्रतिनिधिको टोलीले चेपाङ वस्तीको समस्याबारे पनि प्रधानमन्त्री ओलीसँग कुरा गरेको थियो। वन मन्त्रालय, रक्षामन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी यो समस्या पनि समाधान गरिने प्रधानमन्त्री ओलीले बचन दिएको मेयर पौडेलले बताए।




