काठमाडौं । मुलुकका प्रमुख शहर र सीमा क्षेत्रमा कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता र विज्ञहरुसँग छलफल गरेपछि सरकारले पुनःलकडाउन गर्छ कि भन्ने आशंक बढेको छ । गत साउन ७ गते देशभर सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको १३ दिनमै २७ सय नयाँ कोरोना संक्रमित देखिएपछि प्रधानमन्त्रीले विज्ञहरुसँग परामर्श गरेसँगै यो आशंका बढेको हो । मुख्य शहर काठमाडौं, विरगञ्ज र विराटनगरमा अस्वभाविक रुपमा संक्रमति बढी नै देखिन थालेपछि सरकार झस्किएको छ ।
जनघनत्व बढी रहेका क्षेत्रमा बढन थालेको संक्रमितले कन्ट्याक्ट टे«सिङ गर्न असजिलो हुने, अवस्था भयावह हुन सक्ने भन्दै विज्ञहरुले चासो देखाउन थालेपछि प्रधानमन्त्री केपी ओलीले आफ्नै निवासमा जनस्वास्थ्य क्षेत्रका विज्ञसहित केही राजनीतिक नेतासमेतको उपस्थितीमा कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारमा अबको कदम बारे झण्डै साढे ४ घण्टा गम्भिर छलफल गरेका थिए ।
सरकारले केही न केही कदम चाल्नै पर्छ भन्ने विज्ञहरुको सुझाव आएपछि मुलुक पुन लकडाउनतर्फ उन्मुख भएको आकलन गर्न थालिएको छ । केहीले कर्फ्युसहितको लकडाउन, केहीले लकडाउन र केहीले आंशिक (ठाँउ विशेषलाई आधार वनाएर) लकडाउन लगाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर अब यो सुझाव पछि सरकारले के गर्छ ? अहिले चासो सबैको सरकारको अबको कदम के ? भन्नेमा छ । प्रधानमन्त्री ओली स्यवं पनि आफ्नै पार्टीभित्र बैठक राख्न परेको दबाबबाट पन्छिन पनि उनलाई कोरोना एउटा बहाना बनिरहेको बेला पुन लकडाउन घोषणा गर्न पनि सक्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ । लकडाउन लगाउने तर त्यसबीचमा कोरोना नियन्त्रण र रोकथामका लागि परिक्षणको दायरा बढाउने लगायत लकडाउन लगाएर नियन्त्रणका लागि गर्नुपर्ने कामका बारेमा भने चुपचाप बस्ने सरकारको नीतिको गत ४ महिना लकडाउन लगाउदैमा आलोचना भएको थियो । अवस्था र ठाँउ विशेषलाई हेरेर लकडाउन लगाउनु पर्ने हुन्छ । तर यो सँगसँगै लकडाउन लगाएको क्षेत्रमा नियन्त्रण र रोकथामका लागि अवलम्वन गर्नुपर्ने नीतिका वारेमा सरकार चुप मात्र बस्ने संस्कारले सरकारसँग नियन्त्रणको दीर्घकालिन योजना विगत लकडाउन नियाल्दा पनि केही देखिएको छैन् । यो बीचमा अब सरकारले के गलाए ? सरकारले प्रष्ट बताईसकेको त छैन् ।
सिसिएमसी, स्वास्थ्य मन्त्रालय र मन्त्रिपरिषदमा छलफल गरेर आवश्यक निर्णय लिने बताएको छ । प्रधानमन्त्री ओली स्यवंले पनि मंगलबारको विज्ञहरुसहितको छलफलमा यस्तै बताएका छन् । तर के गर्दैछ त सरकार ? धेरैले फेरि लकडाउन नै सरकारको विकल्प हो भन्ने बताउन थालेका छन् । सरकारले विगतको जस्तो नभई नयाँ मोडालिटीमा लकडाउन गर्ने भएको छ । देशभर नभई संक्रमितको संख्या धेरै बढेको र जोखिम धेरै रहेको स्थानमा लकडाउन गर्ने तयारी सरकारले गरेको सरकारका एक मन्त्रीले जानकारी दिए । सरकारले काठमाडौँलाई उच्च जोखिममा राखेको छ । सोहि कारण अब काठमाडौँमा पहिले भन्दा कडा खालको लकडाउन गरिने विषयमा छलफल चलिरहेको ति मन्त्रीले बताए ।
जस अनुसार अहिले नखुलेका उद्योग, कलकारखाना र पसलहरु बन्द नै रहनेछन् भने मानिसको बढी भिडभाड हुने स्थानलाई निगरानीमा राखिने भएको छ । पसल, कार्यालय लगायतका भिडभाड हुने स्थान र अहिले संचालनमा रहेको सार्वजनिक यातायात फेरी बन्द गरिने भएको छ । त्यस्तै निजि सवारीको हकमा जोर बिजोर प्रणाली लागु हुने र पहिले भन्दा बढी सुरक्षाकर्मी राखेर निगरानी हुनेछ । कम्तीमा तीन साता सम्म लकडाउन गरेर हेर्ने तयारीमा सरकार अगाडी बढिसेकको ति मन्त्रीले बताए ।




