ताजा समाचार

तानातानमा वामदेव ओलीपछि प्रचण्ड पुगे भैसेपाटी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटार बोलाएका वामदेव गौतम घरबाट निस्कन लाग्दा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेपछि उनी उतै रोकिए । साउन १३ गते दुई अध्यक्ष सामु ६ बुँदे प्रस्ताव अघि सारेका गौतम त्यससता अर्का अध्यक्ष केपी ओली निकट हुन पुगेको विश्लेषण हुन थालेका बेला गौतमलाई भेट्न प्रचण्ड भैसेपाटी पुगेपछि उनी उतै रोकिएका हुन् ।
विहान ११ बजे ओली र वामदेव भेटघाटको कार्यक्रम तय भएको थियो । ओलीपछि प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । साँझ ओलीसँगको छलफल अघि गौतम निवास पुगेका हुन् । गौतमले नेकपा विवाद उत्कर्षमा पुगेका बेला सहमतिको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेसँगै ओली गौतमलाई भेट्न उनको निवास पुगेका थिए । गौतमको ६ बुँदे प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ ।
प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ । यसबाहेक पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ । यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ । लगत्तै गौतमलाई आस्वस्त पार्न ओली भैसेपाटीस्थित निवास पुगेर यसअघि गौतमसँग भएका सहमति कार्यान्वयन गर्ने आश्वस्त पारेका थिए ।
नेकपा विवादमा कहिले प्रचण्ड र कहिले ओली खेमातिर लाग्दै आएका गौतम पछिल्लो समय ६ बुँदेमार्फत ओली कित्तामा उभिन पुगेको भनिएका बेलामा नेकपा सचिवालयमा ओली पक्षको बहुमत पुगेको विश्लेषण हुन थालेको छ । साउन १३ गतेको स्थायी कमिटी बैठकमा गौतमले २७ मिनेट ओलीलाई गाली गर्दै ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए । गौतमले ओलीलाई गाली गरेको विषयमा कतै समाचार नबनेपनि ६ बुँदे प्रस्तावको चर्चा भने अहिलेसम्म चलिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *