म्याग्दी। मार्ग खुलेको १८ वर्षपछि म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सडक स्तरोन्नति गरेर पक्की बनाउन थालिएको छ ।
बेनी नगरपालिकाले बेनी–पुलाचौर–टोड्के सडक योजनामार्फत विसं २०६५ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउने योजना सञ्चालन गरेको हो । बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बानियाँले मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति गर्न लागिएको बताए।
चालु आर्थिक वर्षका लागि रु एक करोड ७७ लाख ८८ हजार ४७२ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि रिभरएज इञ्जिनियरिङ एण्ड बिल्डर्स प्रालिले गत पुस १२ गते रु एक करोड २२ लाख ५५ हजार २०० मा ठेक्का सम्झौता गरेको थियो ।
सडक फराकिलो पार्ने र पर्खाल निर्माण गरिरहेको निर्माण कम्पनीले पुलाचौर क्षेत्रमा ढलान सकेर कालोपत्रका लागि ग्राभेल गरेर तयारी थालेको छ । हालसम्म यसमा करिब ५० प्रतिशत भौतिक प्रगति भएको बताइएको छ ।
आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको हुँदा यो योजनामार्फत ५९७ मिटर ढलान र ३०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिने बेनी नगरपालिकाका सवइञ्जिनियर मिलन केसीले बताए। पाँच सय दुई मिटर दूरीमा नाली र १७४ दशमलव ७४ घनमिटर पलम कङ्क्रिट पर्खाल निर्माण हुने उनले बताए।
यो सडकको निर्माण सम्पन्न भएपछि स्थानीयवासीका साथै रावणपार्क, पछै, ढोलथान, जगन्नाथ र टोड्केलगायत धार्मिक पर्यटकीयस्थलको दर्शन र पूजाआजाका लागि आउने भक्तजन तथा पर्यटकलाई सुविधा पुग्नेछ । बेनी–पुलाचौर–टोड्के बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सबैभन्दा बढी बजेट विनियोजन गरेको गौरवको आयोजना हो ।
बेनी नगरपालिकाको ६० प्रतिशत र सङ्घीय सरकारको ४० प्रतिशत लागत साझेदारीमा सञ्चालित सडक स्तरोन्नति आयोजना सञ्चालन भएको हो । तीन आवमा क्रमागत योजनाको रुपमा पुरुण्डीदेखि पुलाचौर हुँदै नयाँगाउँ खण्डको सडकलाई पक्की बनाउन लागिएको नगर प्रमुख सुरत केसीले बताए।
सडक पक्की भएपछि धुलो र हिलोको समस्या हट्ने, यात्राअवधि छोटिने, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट मुक्ति मिल्ने स्थानीयवासीको भनाइ छ । सामान्य मर्मतसम्भार गरेर यातायात सञ्चालन हुँदै आएको यो सडकमा यात्रा गर्न असहज हुँदै आएको थियो ।
बेनी नगरपालिकाको ६, ५ र मंगला गाउँपालिकाको १ नम्बर वडाका बस्तुहरूलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडकमा बेनीदेखि बेनी नगरपालिका–६ अर्थुङ्गे– बाँसबोट– एकपाटे– अवेचौर हुँदै पुरुण्डीसम्म छ किलोमिटर ढलान र कालोपत्र गरेर पक्की बनेको छ ।




