ताजा समाचार

मूल्यवृद्धि विरुद्ध नेविसंघको प्रदर्शन, आयल निगम घेराउ

 

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार बिरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेविसंघले माग गर्दै बबरमहलस्थित सडकमा प्रदर्शनसमेत गरेको छ ।

आयल निगमले १० दिनमा दुई पटक मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धि खारेजको माग गर्दै नेविसंघले नेपाल आयल निगमको कार्यालय समेत घेराउ गरेको छ । प्रदर्शनको नेतृत्व नेविसंघ अध्यक्ष राजिव ढुंगानाले गरेका थिए । नेविसंघले सरकारमा बसेर जनता मार्न पाइँदैन, मूल्यवृद्धि खारेज गर, भ्रष्ट सरकार कहाँ छ, नेविसंघ यहाँ छ, नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौंलगायत नारा लगाएको थियो ।

प्रदर्शनमा सहभागी विद्यार्थीले टाउकोमा कालोपट्टी बाँधेर बिरोध जनाएका थिए । कोरोना कहरका बीच निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका कारण आफ्नो संठगन विरोधमा उत्रिनु परेको संघका अध्यक्ष ढुंगानाले बताए । कोरोना भाइरसको महामारीका नाममा अहिले सबै बस्तुको मूल्य बढाएकाले नेविसंघ सडक प्रदर्शनमा उत्रेको उनको भनाइ थियो ।

निगमले पछिल्लो पटक शुक्रबार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। अहिले पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ रहेको छ । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने अध्यक्ष ढुंगानाले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *