कर्णाली प्रदेश

कर्णालीमा नेतृत्व परिवर्तन : माओवादी दलका नेता राजकुमार शर्माको राजीनामा स्वीकृत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माको राजीनामा औपचारिक रूपमा स्वीकृत गरिएको छ। दलको बुधबार बसेको बैठकले शर्माले बुझाएको राजीनामा स्वीकार गर्दै नेतृत्व छिट्टै पुनः चयन गर्ने निर्णय गरेको छ।

बैठक प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको थियो। नेता शर्माले बिहीबार बिहान जिसीलाई सम्बोधन गर्दै ‘ह्वाट्सएप’ मार्फत राजीनामा पठाएका थिए। उनले पद छोड्नुका कारण भने खुलाएका छैनन्।

शर्माको राजीनामा पत्रमा भनिएको छ, “म राजकुमार शर्मा, कर्णाली प्रदेश सभा दलको नेताबाट राजीनामा दिएको अवगत गराउँछु।”

जनार्दन शर्मा प्यान छुटिएपछि नेतृत्व त्याग

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका शर्मा रुकुम पश्चिम ९ख० बाट निर्वाचित भएका हुन्। उनी माओवादी नेता जनार्दन शर्माका भाइ पनि पर्छन्। पछिल्लो समयमा जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीतर्फ उन्मुख भएपछि उनलाई पछ्याउँदै राजकुमार शर्मा पनि सो प्यानमा नजिकिएको माओवादीका एक सांसदले बताए। यही पृष्ठभूमिमा उनले दलको नेताबाट हटेको बुझिएको छ।

प्रदेशमा दलगत समीकरण

कर्णाली प्रदेश सभामा ४० सदस्य छन्—नेपाली कांग्रेस : १५,माओवादी केन्द्र : १३,एमाले : १०,एकीकृत समाजवादी : १,राप्रपा : १ जना सांसद रहेका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ मा पुनः १३ सदस्य कायम रहने जनाइएको छ। बैठकमा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्का र माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्ल पनि सहभागी थिए।

जनार्दनको प्रभाव घट्यो

यसअघि कर्णालीमा जनार्दन शर्मा प्यानको बलियो प्रभाव रहँदै आएको थियो, जहाँ १३ मध्ये ११ सांसद उनी पक्षमा उभिएका थिए। तर जनार्दनले पार्टी छोडेपछि उनको पक्षमा टिक्ने सांसद राजकुमार शर्मा मात्रै देखिएका छन्। बुधबारको बैठकमा शर्मा बाहेक सबै माओवादी सांसदहरू सहभागी भएको संसदीय दलले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *