काठमाडौं । सरकारले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउने योजना बनाएको छ। यसका लागि कानुन संशोधन गर्ने तयारी सुरु गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, विदेशमै मतदान केन्द्र स्थापना गरेर समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन पाउने वातावरण तयार गरिनेछ। साथै, उमेर पुगेका तर मतदाता नामावलीमा नाम समावेश नभएका युवालाई पनि मताधिकारको अवसर सुनिश्चित गर्न कानुनमा सुधार गरिनेछ।
अन्तरिम सरकारले आगामी फागुन २१ गते ताजा जनादेशका लागि निर्वाचन गर्ने निर्णय गरिसकेको छ। यसक्रममा अर्यालले निर्वाचन आयोगसँग छलफल गर्दै सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन निर्देशन दिएको स्मरण गराए।
अर्यालले भने, “बाहिर बस्ने नेपालीहरूलाई नेपाल आएर भोट हाल्न बाध्य गर्न सकिँदैन। त्यसैले विदेशमै मतदान केन्द्र स्थापना गरी समानुपातिक प्रणाली अन्तर्गत मतदानको अवसर प्रदान गरिनेछ। यदि प्राविधिक कठिनाइ आउँछ भने समाधान खोज्ने छौं।”
उनले थपे, “मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा पनि राजदूतावासमार्फत प्रविधिको प्रयोग गरी मतदानको व्यवस्था गर्नुपर्छ। राज्यले प्रविधिको सहयोगमा युवा पुस्तालाई राजनीतिक प्रक्रियामा ल्याउने प्रयास गर्दैछ।”
अर्कोतर्फ, निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले चुनावको तयारी मौजुदा कानुन अनुसार जारी रहेको र सरकारले सम्भाव्य विकल्प प्रस्तुत गरेमा आयोगले त्यसको कार्यान्वयन गर्ने बताए।
यससँगै विदेशमै मतदानको व्यवस्था, मतदाता नामावलीको अद्यावधिक र कानुन संशोधनको प्रक्रिया अघि बढ्ने तयारी रहेको छ।




