राजनीति

एमाले विधान महाधिवेशन अघि प्रेस चौतारीको ७ बुँदे सिफारिस

काठमाडौं । नेकपा एमालेको आसन्न दोस्रो विधान महाधिवेशन (भदौ २०–२२) लाई लक्षित गर्दै प्रेस चौतारी नेपालले पार्टीलाई सम्बोधन हुने खालका ७ बुँदे सुझाव पेस गरेको छ । अध्यक्ष गणेश पाण्डेको नेतृत्वमा गएको चौतारी पदाधिकारी टोलीले च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेललगायत शीर्ष नेताहरूसमक्ष सुझावपत्र बुझाएको हो ।

सुझावमा पार्टी विधानको प्रस्तावनामा ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध’ भन्ने वाक्यांश राख्नुपर्ने, ७० वर्षे उमेर सीमा हटाउनुपर्ने र पार्टी अध्यक्षलाई दुई कार्यकालमा मात्र सीमित गर्ने व्यवस्था खारेज गर्नुपर्ने भनिएको छ । चौतारीले यसलाई अनुभवी नेतृत्व निरन्तरता दिने र आन्दोलनलाई सुदृढ बनाउने सकारात्मक कदमका रूपमा व्याख्या गरेको छ ।

यस्तै, विधानमा प्रस्तावित १५ पदाधिकारीलाई घटाएर ९ मा सीमित गर्न र केन्द्रीय कमिटीको संख्या २५१ कायम राख्न सुझाव दिइएको छ । सम्पर्क समन्वय कमिटीको स्पष्ट रूपरेखा र मिडिया कानूनबारे पार्टीको धारणा स्पष्ट पार्नुपर्ने कुरा पनि उल्लेख छ ।

विशेष प्रावधानका रूपमा राष्ट्रपति वा उपराष्ट्रपति भइसकेका व्यक्तिलाई पुनःसक्रिय राजनीतिमा फर्किन नदिने, साथै संवैधानिक आयोगका प्रमुख आयुक्त वा आयुक्त रहेकाहरूलाई पनि पार्टीमा फर्कन नपाउने गरी व्यवस्था गर्नुपर्ने सुझाव चौतारीले प्रस्तुत गरेको छ ।

प्रेस चौतारीले यी सुझावहरू एमालेको संगठनात्मक सुदृढता, विधागत स्पष्टता र राजनीतिक शुद्धतामा योगदान पुर्‍याउने दाबी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *