काठमाडौं । नेपाली कांग्रेसभित्रै आन्तरिक असहमति चुलिएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खानले आफ्नै पार्टीका नेता तथा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेयको कडा आलोचना गरेका छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ढिलासुस्ती भएको भन्दै मेयर खानले “भारतलाई मात्र दोष देखाएर सरकारले जिम्मेवारीबाट पन्छिन सक्दैन” भनेका छन्।संविधानसभा सदस्यसमेत रहेका खानले संघीय सरकारले बहानाबाजी छोडेर ठोस कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिए। उनका अनुसार विमानस्थल सञ्चालनमा देखिएको ढिलाइले स्थानीय पर्यटन उद्योग, व्यापार र समग्र आर्थिक विकासमा प्रत्यक्ष नकारात्मक असर पारेको छ।
“स्थानीय जनता आक्रोशित छन्, विमानस्थल चल्न नसक्दा मुलुकले ठूलो अवसर गुमाइरहेको छ। सरकारले अब बहाना होइन, समाधान देखाउनुपर्छ,” मेयर खानले चेतावनी दिए। उनको यो सार्वजनिक वक्तव्यले पार्टीभित्रै असमंजस र दबाब सिर्जना गरेको छ। खासगरी, विमानस्थल सञ्चालनमा देखिएको समस्यालाई छिमेकी मुलुकको कारण भनेर पन्छिने संघीय सरकारको शैलीप्रति कांग्रेसभित्रै आलोचनाको स्वर उठ्न थालेको छ।




