काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको विदेश भ्रमणदेखि सरकारको दैनिक कार्यशैलीसम्ममा भ्रष्टाचारको गन्ध आएको आरोप लगाउँदै तीब्र व्यंग्यसहित कटाक्ष गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै भने, “अहिले त जहाँ सरकार, त्यहाँ भ्रष्टाचार । अब चित्रगुप्तलाई प्रधानमन्त्रीज्यूले के बयान दिने हो)”
प्रचण्डले प्रधानमन्त्रीको हरेक विदेश भ्रमणसँगै विवादित गतिविधि जोडिएको उल्लेख गर्दै हालैको स्पेन भ्रमणलाई पनि उदाहरणमा प्रस्तुत गरे। उनले स्मरण गराए, “अमेरिकाको भ्रमणताका के के भयो भन्ने त अझै जनताले बिर्सेका छैनन्, अहिले स्पेनबाट पनि बेथिति र असङ्गति भएका खबर आइरहेका छन्।”
उनले यस्तो अवस्था आफैमा गम्भीर चिन्ताको विषय भएको बताउँदै प्रधानमन्त्रीलाई कटाक्षपूर्वक आग्रह गरे, “जहाँ पाइला राख्नुभएको हुन्छ, त्यहाँ विवाद किन जन्मिन्छ भन्ने कुरा आफैंले सोच्नुस् । प्रचण्डले प्रधानमन्त्री ओलीले विगतमा ‘चित्रगुप्तसमक्ष पनि जवाफ दिन तयार छु’ भनेको अभिव्यक्तिलाई स्मरण गर्दै व्यङ्ग्यात्मक लहजा अपनाए। उनले भने, “देशभित्र मात्र होइन, विदेशमा समेत प्रधानमन्त्री ज्यू पुग्नु भएको ठाउँमा केही न केही अनियमितताको चर्चा आउँछ। अब त्यो चित्रगुप्तलाई के भनेर भन्नु हुन्छ?”
प्रचण्डले सरकारको कार्यशैलीले जनतामा निराशा बढाएको र भ्रष्टाचारविरुद्धको लडाइँ केवल नारामा सीमित भएको आरोप लगाए। उनले भने, “नैतिकताको कुरा गर्ने नेतृत्व आफैं विवादको केन्द्र बन्नु विडम्बना हो।” प्रचण्डको सम्बोधनले भ्रष्टाचार र सुशासनबारे संसदमा नयाँ बहसको थालनी गराउँदै प्रधानमन्त्री र सत्तारूढ दलमाथि दबाब सिर्जना गरेको छ।




