राजनीति

थुनामुक्त भएपछि रविन्द्र मिश्रले भने –“म राजनीतिक मान्छे हुँ, मैले विचार राखेको हुँ, अपराध गरेको होइन”

काठमाडौं । राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले हाजिरी जमानतमा थुनामुक्त गर्न आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार मिश्रलाई छाड्न आदेश दिएको हो।

मिश्रलाई गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले हिंसा भड्काउने अभियोगमा पक्राउ गरेको थियो। त्यतिबेला दुईजनाको मृत्यु, २० भन्दा बढी घाइते र सार्वजनिक सम्पत्तिमा क्षति भएको थियो।

सत्ताको असहमति गर्नेहरूमाथि राज्यविरुद्धको कसुर संगठित अपराध र अपराधिक उपद्रव जस्ता गम्भीर आरोप लगाउने सरकारी प्रवृत्ति फेरि एकपटक उजागर भएको छ। मिश्रले अदालतबाट निस्कँदै भने, “म राजनीतिक मान्छे हुँ, मैले विचार राखेको हुँ, अपराध गरेको होइन।”  अदालतको आदेशसँगैँ मिश्र हिरासतमुक्त भएका छन् ।

उनले आन्दोलन हिंसात्मक बनेको स्वीकार गर्दै पनि आफू त्यस्तो योजनामा संलग्न नरहेको प्रष्ट पारे। शान्तिपूर्ण संक्रमण र नवीन समझदारीमा विश्वास गर्ने आफूले हिंसा योजनाबद्ध गर्न नसक्ने उनले जिकिर गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *