काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत् प्राधिकरण ऐन बमोजिम सर्वसाधरणलाई शेयर जारी गर्नुपर्ने भए पनि हालसम्म त्यसो हुन नसकेको भन्दै तत्काल कानुन अनुसार २० प्रतिशत शेयर वितरण गर्न ध्यानाकर्षण गराए ।
कांग्रेसकै उदयशमशेर राणाले गत असोजको बाढीले ललितपुरका विभिन्न क्षेत्रका नागरिक प्रभावित भएको र चार महिनाको अवधिमासमेत उद्धार र पुनःनिर्माणको कामले गतिलिन नसकेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका नाममा जनतालाई दुःख दिने काम तत्काल बन्द गर्न र संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए । रास्वपाकै अषिम साहले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर जिल्ला जिल्ला घुमाइरहेको र उनको सांसद पद निलम्बन गरिनु खेदजनक कार्य भएको भन्दै तत्काल निलम्बित सांसद पद फुकुवा गर्न माग गरे ।
कांग्रेसका सांसद आशा विकले सर्लाही घटनाले दलित समुदायमाथि भइरहेको विभेद्को घटनाको प्रतिनिधित्व गरिरहेको भन्दै पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराए ।
एमालेका सांसद ईश्वरबहादुर रिजालले अढाइ महिनाअघि प्रमुख प्रतिपक्षी दलका नेपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक मञ्चमा ‘कुजातहरुको सम्बन्धले हामी पनि बिग्रियौँ’ भन्ने शब्द बोलेको र उक्त शब्दबारे स्पष्ट पार्नको निम्ति प्रतिपक्षी दलका नेतालाई रुलिङ गर्न सभामुख समक्ष माग गरे ।
सांसदहरु ईश्वरी न्यौपाने, उर्मिला थेवे, ऋषिकेश पोखरेल, एकनाथ ढकाल, कल्पना मियाँ कुसारी, किरणकुमार साह, गङ्गाप्रसाद यादव, चन्दा कार्की (भण्डारी), चन्द्रबहादुर विश्वकर्मा, चित्रबहादुर केसी, छविलाल विश्वकर्मा, छिरिङ डम्डुल लामा, छिरिङ ल्हामु लामा (तामाङ), जावेदा खातुन जागा, ज्वालाकुमारी साह, जीवन परियार, कान्तिका सेजुवाललगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।




