काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने भएपछि एमालेले कार्की अदालत नपुग्दै मुख्यमन्त्रीमा सपथ लिने हिक्मत कार्कीले तयारी गरेका छन् । कांग्रेसबाट निर्वाचित भएका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समयावधि आज राती सकिने भएपछि एमालेले रातारात कोशी प्रदेशमा एमालेको सरकार बनाउन षडयन्त्र रच्न खोजेको छ ।
गत चैत २६ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएका थिए । संविधानको धारा १८८ को उपधारा २ अनुसार त्यसदिनदेखि ३० दिनभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने थियो । प्रदेशसभाको विशेष अधिवेशनबाट गत वैशाख ७ गते संकल्प प्रस्ताव पारित गर्दै मुख्यमन्त्रीलाई संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिन ध्यानाकर्षण गराइसकेको छ ।
कार्की २०८० असोज २८ गते संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेका हुन् । त्यसबेला उनलाई एमालेका ३९ र माओवादीका ८ सांसदले समर्थन गरेका थिए । उक्त उपधारा अनुसार बनेको सरकारले पटक–पटक विश्वासको मत लिनु नपर्ने मुख्यमन्त्रीको भनाइ छ । एमाले र माओवादीले निर्धारित समयमा विश्वासको मत नलिएको कारण कार्की मुख्यमन्त्रीबाट स्वतः कामचलाउमा परिणत हुने बताएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गर्नुपर्ने एमाले र माओवादीको दावी छ ।
मुख्यमन्त्री केदार कार्की आफू मुद्दामा जानुपर्ने हुनसक्ने भन्दै विपक्षीले चाल्ने सम्भावित कदमको बारेमा सचेत बनेका छन् । प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरे तुरुन्तै सर्वोच्चमा निवेदन दिने र अन्तरिम आदेश ल्याएर सरकार प्रमुख रहिरहने मुख्यमन्त्रीको कार्कीले तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतसँग परामर्श गरिसकेको बताएका छन् तर विपक्षी दलले बुधबार बेलुका सर्वोच्च बन्द हुनेबेलामा नयाँ सरकार गठनको आव्हान गरेर बिहीबार बिहान अदालत खुल्नु अगाडि नै नयाँ मुख्यमन्त्रीको शपथ गराउने तयारी गरेका छन् । तर मुख्यमन्त्री कार्कीले नियम अनुसार आँफू अघि बढ्ने बताएका छन् ।




