काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री एवं प्रदेश सभा संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेको छ ।
शुक्रबार पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले सभामुख भिमबहादुर भण्डारीलाई पत्र पठाउँदै प्रदेश सभा सदस्य चौधरीलाई तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख गरिन् । पार्टीले गरेको निर्णय नमानेको भन्दै नागरिक उन्मुक्ती पाटी अध्यक्ष श्रेष्ठले असन्तुष्टि व्यक्त गर्दै आएकी थिइनु् । अध्यक्षलाई बुझाएको स्पष्टीकरण समेत चित्त बुझ्दो नभएकाले चैत्र ३० गते पार्टी केन्द्रीय कमिटीको निर्णय बमोजिम चौधरीलाई निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ ।
यस अघि चैत्र २५ गते अध्यक्ष श्रेष्ठले सभामुख भण्डारीलाई पत्र पठाएर प्रदेश सभा संसदीय दलको नेतामा कैलाशी चौधरीलाई जिम्मेवारी दिएको जानकारी गराउनु भएको थियो । यस्तै पार्टीले पठाएको पत्रका आधारमा प्रदेश सभा सचिवालयले नाउका प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेको सूचना टाँस गरेको थियो । सुदूरपश्चिम प्रदेशमा ६ जना प्रदेश सभा रहेको नाउपाभित्र सत्ता समीकरणका विषयमा विवाद निकै बढेको छ ।
अध्यक्ष रन्जिता श्रेष्ठ नयाँ सत्ता समीकरणको पक्षमा रहँदा संरक्षक रेशम चौधरी विपक्षमा रहेका छन् । पदमुक्त गरिएकी गिरि र निलम्बनमा परेका चौधरी दुवै जना रेशम निकट रहेका छन् । सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा निर्णायक रहेको नाउपाको विवादले नयाँ सरकार गठनमा समेत ढिलाई भइरहेको छ ।
मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त प्रदेश सभा सदस्यलाई वैशाख २ गते ५ बजे भित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न चैत्र २३ गते आह्वान गर्नु भएको थियो ।





