मुख्य समाचार

 सहकारी ठगीको आरोप लागेपछि अनुसन्धानका लागि गृहमन्त्री तयार हुनुपर्छ : राजेन्द्र पाण्डे 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीको ठगी प्रकरणमा नाम जोडिएपछि अनुसन्धानलाई सघाउन गृहमन्त्री लामिछाने  तयार हुनुपर्ने बताएका छन् । सङ्घीय संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिरहेका बेला गृहमन्त्री लामिछानेले अस्वीकार गरेको भन्दै पाण्डेले प्रतिपक्षले निष्पक्ष छानबिनका लागि समिति गठन गर्न माग गरेको भन्दै त्यसलाई स्विकार्नुपर्ने बताए । ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने सङ्केत गर्दै मङ्गलवार प्रतिनिधिसभा बैठकपश्चात् सञ्चारकर्मीसँग उनले कुनै पनि प्रकरणमा प्रतिपक्षले माग गरेपछि छानबिन समिति बनाउने यसअघि नै परम्परा बसिसकेकाले गृहमन्त्रीले यसलाई स्विकार्नुपर्ने उल्लेख गरे । 

   सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि नेपाली काँग्रेसले संसदीय छानबिन नगरेसम्म संसद् बैठक चल्न नदिने भन्दै प्रतिनिधि सभा बैठकमा आवाज उठाउँदै आएको छ । काँग्रेसले सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय समिति गठन नगरेसम्म संसद् चल्न नदिने बताउँदै आएको भन्दै पाण्डेले सत्तापक्षले सबैभन्दा ठुलो दल प्रतिपक्षले गरेका माग सम्बोधन गर्न सकार तयार हुनुपर्ने बताएका छन् । 

    सांसद पाण्डेले संसदीय समिति बनाएर अनुसन्धानलाई गृहमन्त्री लामिछानेले सहयोग गरेको अवस्थामा मात्र नागरिकलाई लागेको शङ्का मेटिने बताए । अहिले राजनीति वृत्तमा पनि सोही कुराको बहस जारी छ । उनले गृहमन्त्री लामिछानेले प्रतिपक्षले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दा र राजीनामा माग्दा समेत चुप लागेर बस्नाले अहिले शङ्काको बाटो भएको उनले बताए । 

उनले संसद् बैठकमा प्रमुख प्रतिपक्षले बोलिसकेपछि सत्तापक्षका सांसदलाई बोल्न दिनु सभामुख देवराज घिमिरेको कमजोरी र अज्ञानता भएको समेत टिप्पणी गरे । सभामुखले संसद्‌मा दुई पक्षलाई लडाउने उपाय गरेको भन्दै सांसद पाण्डेले त्यसो नगर्न समेत आग्रह गरे । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *