मुख्य समाचार

रास्वपालाई झिल्के पार्टी भनेपछि रवि लामिछाने खनिए ओलीमाथि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एमाले अध्यक्ष केपी ओलीमाथि खनिएका छन् । आफ्नो पार्टीलाई झिल्के भनेर सम्बोधन गरेपछि रविले ओलीलाई जनताको चेतनालाई चुनौती नदिन चेतावनी दिए ।

मंगलवार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रममा लामिछानेले प्रश्न गरे, ‘आफ्ना नेताहरु भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा, हरेक क्षेत्रको इण्डिकेटरहरुलाई रेडमा पु¥याउँदा अझै पनि तपाईकै दललाई भोट हालिरहने ? तपाईकै नेतालाई भोट हालिरहने ? ती भोटर चाहिँ कस्ता ?’

ओलीले सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा नयाँ दलप्रति लक्षित गर्दै नीति, सिद्धान्त, इतिहास योगदान, अनुभव केही पनि नभएका झिल्केहरूबाट जनतालाई भ्रममुक्त बनाउनुपर्ने बताएका थिए । ‘आज अनेक प्रकारका तत्वहरू सल्बलाइरहेका छन् । बलिदान एकाथरीले दिन्छन्, तर त्यो त्याग र बलिदानको उपहास गरेर एकाथरी तत्व बडा गज्जबको झिल्के कुरा गर्दै निस्किन्छन् । झिल्के कुराका भरमा जनता अलमल्याउन खोज्छन्,’ ओलीले भने, ‘बजारमा गएर उम्मेदवार खोजेर, हात उठाएका भरमा छानिएकालाई जनताले भोट हालिदिन्छन् । हाम्रो कमजोरी हो त्यो । यस्तो झिल्के कुरा गर्नेहरूले जनतालाई अलमल्याइरहेका छन् । अरू केही पार्टी त विषै छर्ने पार्टीहरू छन् । उनीहरूको भ्रमबाट जनतालाई मुक्त गर्नुपर्छ ।’

पार्टीहरू नयाँ र पुरानो भन्ने विषय उसको नीति र भूमिकामा भर पर्ने भन्दै ओलीले समयानुकूल अद्यावधिक गर्दै मुलुक र जनताको मुद्दा बोक्ने पार्टीले नै देशको नेतृत्व गर्ने बताए का थिए। कांग्रेसले भने आफूलाई नीति र विधिअनुसार नचलाएर पुरानो पार्टीमा रूपान्तरित गरिसकेको ओलीको आरोप थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *