मुख्य समाचार

गृहमन्त्री श्रेष्ठ बीआरआईको तेस्रो सम्मेलनमा भाग लिन चीन प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् ।चीनमा हुने तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका हुन् । चीनको राजधानी बेइजिङमा मंगलबार र बुधबार बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे समेत छलफल हुने कार्यक्रम गृहमन्त्री श्रेष्ठले संम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ ७ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनतर्फ प्रस्थान गरेका हुन् । उनले चीन भ्रमणका क्रममा चीनका सार्वजनिक सुरक्षा र आपतकालीन मन्त्री एवम् चिनियाँ कम्युनिस्ट पार्टी सचिवालय सदस्य वाङ सियाङसीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले आयोजना गरेको रात्रिभोजमा सम्मेलनको पहिलो दिन साँझ उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ सहभागी हुने उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सम्मेलनमा झण्डै तीन दर्जन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुनेछन् ।

चीनले २०१७ मा पहिलो र २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो ।

बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पुर्‍याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना हो ।भ्रमण टोलीमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई, विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका अनिल पोखरेल लगायत सहभागि रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *