काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको चुनावी परिणामलाई लिएर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन् ।
दलको चुनावमा कांग्रेसका सबै सांसदले आफ्नो विवेक र मताधिकार प्रयोग गरेको भन्दै कसलाई मत दिने भन्ने निर्णय सांसदहरुको छनोटको लोकतान्त्रिक अधिकार रहेको बताएका छन् ।
चुनावमा पराजित भएपनि मत नदिने सांसदहरुको समेत मन जित्ने गरी आगामी दिनमा काम गर्ने भन्दै उनले नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्,‘आन्तरिक निर्वाचनको यो परिणामलाई लिएर विभिन्न अनुमानका भरमा विश्लेषण गर्नु र नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन ।’
थापाले कसैका प्रति टिप्पणी नगर्न समेत आग्रह गरेका छन् । उनले भनेका छन्,‘कसैका प्रति कुनै पनि टिकाटिप्पणी नगर्न र संयमताका साथ आफ्ना धारणा राख्न म पार्टीका साथीहरू र शुभेच्छुकहरूमा विनम्रतापूर्वक अनुरोध गर्दै पार्टी रुपान्तरण र राजनीतिमा परिवर्तनका लागि थप ऊर्जाशील हुन आग्रह गर्दछु।’
अपेक्षित परिणाम आउन नसकेका बारेमा समीक्षा गर्दै नयाँ ढङ्गले पार्टीलाई गतिशील बनाउन निरन्तर प्रयत्नशील रहने उनले प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।




