काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी तिनैजना अध्यक्षहरुले फेरि दल नफुट्ने गरी एकताबद्ध बनाएर अघि बढ्न एकता महाधिवेशन आयोजना गरिएको बताएका छन् ।
पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष पशुपतिशम्शेर जबराले दललाई एकताबद्ध बनाइराख्न आफू अध्यक्षको उम्मेदवार नहुने निर्णयमा पुगेको बताए।
‘मैले जितेपछि पार्टी फुट्यो भने तीतो अनुभव हुन्छ, यसैले अध्यक्ष पदमा उम्मेदवार बन्दिनँ, अध्यक्ष दाबेदार मित्र कमल थापा र राजेन्द्र लिङ्देनलाई पनि सर्वसम्मतरूपमा अध्यक्ष निर्वाचित गरेर एकताको सन्देश दिन आह्वान गर्छु, सम्भव भएन भने प्रजातान्त्रिक प्रक्रियाबाट आउने परिणामलाई सबैले मान्नुपर्छ,’ उनले भने ।
पार्टीका अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले दलमा एकता महाधिवेशनले फुटको अन्त्य भई एकताबद्ध भएर अघि जाने वातावरण बन्नेमा आफू विश्वस्त रहेको बताए।
अर्का अध्यक्ष कमल थापाले दलको अन्तिम एकता महाधिवेशन हुने बताउँदै यसका लागि तीनै जना अध्यक्षले पार्टी फुट्न नदिने सङ्कल्प गरेको सुनाए । पार्टी नटुक्र्याउन तीनै जना अध्यक्षले गीता छोएर कसम खाएको अध्यक्ष थापाले महाधिवेशन उद्घाटन समारोहमा जानकारी गराए ।
पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले अन्यायले न्यायलाई छोप्ने प्रवृत्ति बढ्दै जाँदा जनता असन्तुष्ट भएकाले न्यायपूर्ण समाज निर्माण गर्ने गरी राप्रपाले प्रस्ताव पारित गर्न सुझाव दिए ।
राप्रपाका तर्फबाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा जनता हुँदा पनि पार्टी राष्ट्रिय दल बन्न नसक्नुमा नेतृत्वको कमजोरी रहेको बताए ।




