काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामाको दबाब बढिरहेका बेला बिहीबारका लागि आफूसहितका ८ इजलास तोकेका छन्।
गएको सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएपनि प्रधानन्यायाधीश राणाले विहिबार बृहत पूर्ण इजलाससहित ८ इजलास तोकेका हुन् ।
यस अघि सोमबार, मंगलबार र् बुधबार प्रधानन्यायाधीश राणाले तोकेको इजलास न्यायाधीशहरुले अघोषित रुपमा बहिष्कार गर्दै आएका छन् । बुधबार प्रधानन्यायाधीश राणाले मात्र इजलासमा पाँचवटा निवेदनमा सुनुवाइ गरेका थिए ।
बिहीबारका लागि पनि उनले आफ्नो एकल इजलाससहित ८ इजलासमा १६७ पेशी तोकेका छन् ।
अब विहिबार न्यायाधीशहरुले इजलास के गर्छन् भन्ने अहिले अन्योल रहेको छ । सर्वोच्च स्रोतका अनुसार आजको इजलास बारे निर्णय लिन असन्तुष्ट न्यायाधीशहरु छलफलमा रहेको बुझिएको छ ।
यस अघि न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । तर प्रधानन्यायाधीश राणाले राजीनामा नदिने बताएपछि उनीहरु फेरि छलफलमा जुटेर इजलास अघोषित रुपमै बहिष्कार गरेका थिए ।
अहिलेसम्म नेपाल बार एसोसियसन, सर्वोच्च बार एसोसियसनले प्रधानन्यायाधीश राणाले मार्ग प्रशस्त गर्नुपर्ने बताइसकेका छन् ।
प्रधानन्यायाधीश राणाले बिबिसी संगको अन्तर्वार्तामा आफ्नो पक्ष राख्दै राजीनामा नदिने अडान व्यक्त गरेका छन् । उनले आफू संवैधानिक प्रक्रियाबाट नियुक्त भएकोले कसैको दबाबमा राजीनामा नदिने स्पष्ट गरेका छन् ।




