काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको नगद, मोबाइल फोन, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा महिलामाथि दुर्व्यवहार र दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि ‘सुरक्षित यात्रा’ नामक विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो ।
सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका सामान चोरी, पाकेटमारी, लुटपाट तथा महिलामाथि हुने दुर्व्यवहारका घटनाबारे प्राप्त जनगुनासोका आधारमा अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंका विभिन्न स्थानबाट एक महिलासहित १०१ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट नौ जना पुरुष रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क, ललितपुरको सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोक तथा भक्तपुरको ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारी र सुन्धाराबाट उनीहरूलाई पक्राउ गरिएको हो ।




