देश

प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार दिउँसो २ः०५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी सहभागी छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन गरिनेछ । साथै केही नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संशाधन विकासलगायत क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने कार्यक्रम छ । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ ।

भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोमबार प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धासुमन अर्पण गर्नेछन् ।

प्रधानमन्त्री शाह राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *