देश

दुर्घटनामा घाइतेको उपचार सहज बनाउन सातै प्रदेशमा ट्रमा सेन्टर खोलिने

काठमाडौं । सडक दुर्घटना तथा विपद्का घटनामा घाइते हुने नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा यस्तो जानकारी दिएकी हुन् । उनले आवश्यक उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रदेशस्तरमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको नीति रहेको बताइन् ।

प्रादेशिक ट्रमा सेन्टर सञ्चालनमा आएपछि सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशमै सम्भव हुने र गम्भीर अवस्थाका बिरामीलाई उपयुक्त अस्पतालमा पठाउने रिफरल प्रणाली व्यवस्थित हुने मन्त्री मेहताको भनाइ छ ।

दुर्घटनापछि अस्पताल पुग्नुअघि नै उपलब्ध गराइने आकस्मिक उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको उनले जानकारी दिइन् । देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा उपलब्ध गराउन संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४सै घण्टा सञ्चालनमा राखिएको पनि उनले बताइन् ।

एम्बुलेन्सलाई सामान्य यातायातको साधनका रूपमा मात्र नभई आवश्यक आकस्मिक उपचार सेवा उपलब्ध गराउने माध्यमका रूपमा विकास गर्ने सरकारको योजना रहेको मन्त्री मेहताले उल्लेख गरिन् ।

उनका अनुसार ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नराखी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गरिनेछ । दुर्घटनापछि उत्पन्न हुन सक्ने शारीरिक अपांगता र मानसिक समस्यालाई सम्बोधन गर्न पुनर्स्थापना सेवाको विस्तारमा सरकारले ध्यान दिने उनले बताइन् ।

राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणका विषयमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र आवश्यक दरबन्दी व्यवस्थापनको प्रक्रिया छिट्टै टुंग्याइने जानकारी दिइन् ।

विपद्, महामारी तथा सवारी दुर्घटनाका समयमा राष्ट्रिय ट्रमा सेन्टरले अग्रपंक्तिमा रहेर सेवा दिँदै आएको उनको भनाइ थियो । विशेषज्ञ उपचार सेवा स्वदेशमै विस्तार हुँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउन सहयोग पुग्ने उनले बताइन् ।

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबीचको सहकार्य थप सुदृढ गर्दै ट्रमा उपचार सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि मन्त्री मेहताले व्यक्त गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *