काठमाडौं । संकल्पखबर डटकममा मिति २०८३ मंसिर १ गते प्रकाशित ‘भेप तस्करको सेटिङमा मुस्ताङ भन्सारका प्रमुख ६ महिनामै फालिए’ शीर्षकको समाचारप्रति कमल प्याकुरेलले गम्भीर आपत्ति जनाउँदै खण्डन पठाउनुभएको छ ।
प्याकुरेलले पठाउनुभएको खण्डन पत्रमा उक्त समाचारमा आफ्नो नाम जोडेर लगाइएका सम्पूर्ण आरोपहरू असत्य, निराधार र भ्रामक रहेको दाबी गरिएको छ । उहाँले गत जेठ १ गते कोरोला नाकाबाट भित्र्याइएको भनिएको भेप प्रकरण, त्यसको लगानी, स्वामित्व वा कुनै पनि प्रकारको कारोबारमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।
यसैगरी, मुस्ताङ भन्सार कार्यालयका प्रमुखको सरुवा गराउन वा रोक्न आफूले कुनै भूमिका नखेलेको र उच्च प्रहरी अधिकृत वा उनीहरूका परिवारसँगको सम्बन्धलाई दुरुपयोग गरी अनुसन्धान प्रभावित पार्ने काम नगरेको उहाँको भनाइ छ । समाचार प्रकाशन गर्नुअघि आफ्नो प्रतिक्रिया नलिइएको प्रति असन्तुष्टि व्यक्त गर्दै प्याकुरेलले आफ्नो व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा आँच पुगेको उल्लेख गर्नुभएको छ ।
सम्पादकीय नोट:
समाचारमा चित्त नबुझेको विषयमा सम्बन्धित पक्षको भनाइलाई स्थान दिने पत्रकारिताको स्थापित मूल्य, मान्यता बमोजिम कमल प्याकुरेलज्यूले पठाउनुभएको खण्डनको मुख्य अंश यहाँ प्रकाशित गरिएको छ । संकल्पखबरले भेप तस्करी र सरुवा प्रकरणको समग्र विषयवस्तुमाथि समाचार संप्रेषण गरेको हो । समाचारमा चित्त नबुझे खण्डन पठाउने कानुनी ब्यवस्था रहेको र कमल प्याकुरेलले पठाएको खण्डन जस्ताको तस्तै माथि प्रकाशित गरिसकिएको छ । उहाँले समाचार हटाउने र क्षमायाचना गर्ने भन्नुभएको छ, संकल्प खबरले भेप तस्करीको समाचार लेखेको हो, प्याकुरेलले भेप तस्करी गरेको भनेर आरोपित नगरिएको पनि स्पष्ट पार्न चाहन्छौं । समाचारबाट पर्न गएको असुविधाप्रति हामी संवेदनशील छौं । – सम्पादक




