देश

भेप तस्करको सेटिङमा मुस्ताङ भन्सारका प्रमुख ६ महिनामै फालिए

काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता नै सुशासनका चर्का भाषणबाजी सुनिन्छन् । तर, कर्मचारी सरुवादेखि ठेक्कापट्टामा विगतमा भन्दा बढी सेटिङ र लेनदेन हुने गरेको तथ्य एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा चीनबाट सामान आयात हुने मुस्ताङ भन्सार कार्यालयको प्रमुखको सरुवा पनि इलेक्ट्रिक सिगरेट(भेप) तस्करहरुको सेटिङमा भएको खुलासा भएको छ । अवकाशको मुखमा दोहोरिएर भन्सार बिभागको महानिर्देशक भएका यमलाल भूसालले तस्करीमा विवादमा परेका कमल प्याकुरेल, भरत घिमिरे र मेख गुभाजुसहितका ब्यापारीको सेटिङमा मुस्ताङ भन्सारको प्रमुखमा अनन्तप्रसाद तिम्सिनालाई सरुवा गरिएको छ ।

विगतमा रमेश खड्का मुस्ताङ भन्सारको प्रमुख हुँदा भेप तस्करी गरी करोडौं लाभ लिन पल्किएको समूह विगत ६ महिनायता भन्सारमा कडाई गरिएपछि छटपटीमा परेको थियो । बिदुर चुडाल मुस्ताङ भन्सार प्रमुखमा सरुवा भएपछि उनले भेप तस्करी पूर्णतया बन्द गरिदिएका थिए भने अन्य सबै सामानको भन्सार नियमअनुसार असुली गरेका थिए ।

चुडालले चालू आर्थिक बर्ष २०८३–०८४ को सुरुवाती तीन महिना (साउनदेखि असोज २७ सम्म) मा मात्रै मुस्ताङ भन्सारले ८ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेका थिए । तस्करी नियन्त्रण गरी उल्लेख्य राजस्व संकलन गर्न सफल भन्सार प्रमुख चुडाललाई पुरस्कृत गरिनुपर्नेमा ६ महिनामै सरुवा गरी उल्टै दण्डित गरिएको छ । तस्करीमा कडाइ गरेपछि ब्यापारीहरु प्याकुरेल, गुभाजु र घिमिरेको सेटिङमा भन्सार बिभागका महानिर्देशक भुसालले चुडाललाई ६ महिनामै डाँडा कटाएर सेटिङमा तिम्सिनालाई मुस्ताङ भन्सारको प्रमुख भन्सार प्रशासकमा सरुवा गराउन सफल भएका छन् । रमेश खड्का भन्सार प्रमुख हुँदा खुलेआम भेप तस्करी गर्ने समूहकै लगानीमा तिम्सिनालाई कैलाली भन्सारको प्रमुखबाट मुस्ताङमा लगिएको स्रोतको दाबी छ ।

रमेश खड्का प्रमुख भन्सार प्रशासक भएको कालखण्डमा निर्वाध भेप तस्करी गर्दैआएको समूहले चुडालको पालामा गर्न नपाएपछि उनलाई सरुवा गराउन लागिरहेको थियो । सो ब्यापारीक समूहले गएको जेठ १ गते राति कोरोला नाकाबाट नेपालतर्फ भित्र्याएको ५९१ कार्टुन भेप चुडालले बरामद गरेका थिए । भन्सारको टोलीले नियन्त्रणमा लिएको उक्त करिब १ लाख २० हजार पिस भेप रहेको तथ्य खुलेको थियो ।
बजार मूल्य तथा भन्सार महसुलसमेत जोड्दा उक्त भेपको अनुमानित मूल्य करिब ६० करोड रुपैयाँभन्दा बढी रहेको थियो ।

भन्सार शुल्क नजोड्दा उक्त भेपको मूल्य १४ करोड ४० लाख रुपैयाँ हाराहारी रहेको र त्यसमा १२५ प्रतिशत महसुल जोड्दा करिब ३२ करोड रुपैयाँ राजस्व समेत जोडिदा ६० करोड रुपैयाँ अनुमानित मूल्य निकालिएको थियो ।

यो ब्यापारीक समूहले खड्काका पालामा ठूलोमात्रामा भेप तस्करी गरी अकूत लाभ लिएकाले चुडाल गएपछि उनीहरुको धन्दा बन्द भएको थियो ।उक्त भेपका वास्तविक मालिकहरु प्याकुरेल र घिमिरेहरु पर्दापछाडि भएकाले पक्राउ नपरी धादिङका सन्तोष लामा, सिन्धुपाल्चोकका फुन्चु दोर्जे तथा मुस्ताङको लेतेका रविन्द्र दर्नाललाई मात्र नियन्त्रणमा लिई केस सामसुम पारिएको थियो । प्रहरीतर्फ मिलाउने र तस्करीमा मूख्य भूमिका भएकाहरुलाई पक्राउबाट जोगाउने काम प्याकुरेलले गरेका थिए ।

उच्च प्रहरी अधिकृत र उनीहरुका परिवारसँग उठबस गर्ने प्याकुरेलले नै उक्त भेप तस्करीका मुख्य आरोपीलाई जोगाउन भूमिका खेलेका थिए ।रमेश खड्काको पालामा चीनबाट कोरोला नाका हुँदै भेप तस्करी गर्ने हिमेश लामा भए पनि लगानीकर्ता भने प्याकुरेल, सन्तोषचन्द्र बख्रेल, घिमिरेलगायत भएको सूचना पाए पनि उनीहरुलाई उच्च प्रहरी अधिकृतको संरक्षणमा पक्राउ नगरी जोगाइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *