उदयपुर। कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण पहिचान बनाएको यहाँको रैथाने बासमती धानको खेती पछिल्लो समय घट्दै गएको छ । छोटो समयमा बढी उत्पादन दिने वर्णशङ्कर (हाइब्रिड) जातका धानप्रति कृषकको आकर्षण बढ्नु, सिँचाइ अभाव, रोगकिराको प्रकोप र उत्पादन लागत बढ्नुले परम्परागत बासमती खेती लोप हुने अवस्थामा पुगेको हो ।
विशेषगरी त्रियुगा नदीको तटीय क्षेत्रमा उत्पादन हुँदै आएको स्थानीय बासमती, करियाकामत (कालो बासमती) र चनमचुर धानको खेती क्रमशः घट्दै गएको छ । अन्य धानको तुलनामा बासमती खेती गर्न बढी समय र मेहनत लाग्ने तर उत्पादन कम हुने भएकाले कृषकले यसको खेती घटाउँदै लगेको बताएका छन् । पछिल्लो समय बासमतीको मौलिक बास्ना पनि हराउँदै गएको उनीहरूको भनाइ छ ।
स्थानीय कृषक सोमबहादुर दनुवारका अनुसार कृत्रिम बास्ना मिसाइएका आयातित बासमती चामलले बजार ओगटेपछि स्थानीय रैथाने बासमती विस्थापित हुँदै गएको छ । चौदण्डीगढी नगरपालिका–१० हडियाका हरिप्रसाद पौडेल पनि कृषकले परम्परागत जात छाडेर उन्नत धान लगाउन थालेको बताउनुहुन्छ । उहाँका अनुसार पहिले पर्याप्त उत्पादन दिने बासमती, करियाकामत र चनमचुर धानले अहिले अपेक्षाअनुसार उत्पादन दिन छाडेका छन् । त्यसैले कृषकले घरायसी उपभोगका लागि मात्र यसको खेती गर्न थालेका छन् ।
त्रियुगा नगरपालिका–९ सुन्दरपुरका वडाध्यक्ष राजकुमार दनुवारका अनुसार उहाँका बाजेले १० बिघा र बुबाले तीनदेखि चार बिघासम्म बासमती खेती गर्नुहुन्थ्यो । तर अहिले खेतीयोग्य जमिन घट्नु र उत्पादनमा कमी आउनुले केही जग्गामा मात्र बासमती लगाउने गरिएको छ ।
स्थानीय बजारमा बासमती चामल प्रतिकिलोग्राम करिब रु १३० मा बिक्री भइरहेको छ । त्रियुगा नगरपालिका–११ गाईघाटका अग्रज कृषक नारायणबहादुर बस्नेतका अनुसार पर्याप्त सिँचाइ र कम्पोस्ट मलको अभावले पनि रैथाने धानको उत्पादन प्रभावित भएको छ ।
त्रियुगा नगरपालिकाका कृषि शाखा प्रमुख माधव राउत जलवायु परिवर्तनका कारण खोलानाला सुक्दै जानु र पशुपालन घट्नुले कम्पोस्ट मलको उपलब्धता कम भएको बताउनुहुन्छ ।
कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार चालु आर्थिक वर्ष २०८३÷८४ मा जिल्लाको १३ हजार ३८० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ८७७ हेक्टरमा धान खेती गरिएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा १२ हजार ९१२ हेक्टरमा खेती हुँदा ३१ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा खेती गरिएको धानमध्ये सात हजार ३०३ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ ।
त्रियुगा, चौदण्डीगढी, बेलका र कटारीका समथर भूभाग तथा भित्री मधेसका फाँटमा धान खेती हुँदै आएको छ । सिँचाइ, गुणस्तरीय बीउ र संरक्षणका कार्यक्रम प्रभावकारी नबनाइए रैथाने बासमतीको मौलिक पहिचान नै हराउने जोखिम बढेको छ ।




