मुख्य समाचार

ममता काफ्लेको हत्या अभियोगमा पति नरेश भट्ट दोषी ठहर

अमेरिका । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टी अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले उनलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो ।

करिब पाँच घण्टाको छलफलपछि जुरीले फैसला सुनाएको थियो । नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । उनको सजाय सन् २०२७ को मार्चमा निर्धारण हुने छ ।

सुनुवाइका क्रममा अभियोजन पक्षले ममता आत्महत्या गर्ने स्वभावकी नभएको, उनको अनुहारमा यसअघि चोट देखिएको तथा नरेशले विगतमा बन्दुक देखाएर धम्क्याएको लगायतका विवरण अदालतमा प्रस्तुत गरेको थियो ।

अभियोजन पक्षले करिब १०० जना साक्षी र झन्डै ५०० प्रमाण पेस गरेको थियो । तर, नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए ।

सन् २०२४ मा ममता बेपत्ता भएपछि घटनाको अनुसन्धान सुरु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *