काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीशको जिम्मेवारी सम्हालेपछि राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाड्ने गरेको बताएका छन् ।
शनिवार संसदीय सुनुवाइ समितिमा आफ्नो न्यायिक निष्पक्षताबारे उठेका प्रश्नको जवाफ दिँदै पाण्डेले इजलासमा बसेपछि राजनीतिक विषय गौण हुने र प्रमाण तथा मिसिलका आधारमा मात्रै निर्णय गर्ने गरेको स्पष्ट पारे ।
उनले भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसम्बन्धी मुद्दामा आफूले दिएको राय पनि तत्काल प्राप्त प्रमाणका आधारमा रहेको बताए । उक्त मुद्दामा आफूले खाँणलाई छाड्नुपर्ने राय दिएको भए पनि अन्तिम फैसला आफूले नगरेको उनको भनाइ थियो ।
पाण्डेका अनुसार उक्त मुद्दामा आफ्नो र अर्का न्यायाधीशको राय फरक भएपछि तेस्रो न्यायाधीशले खाँणलाई छाड्ने निर्णय गरेका थिए ।
राजनीतिक प्रकृतिका मुद्दाहरू अदालतमा प्रशस्त आउने भए पनि न्यायाधीशले राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त भएर प्रमाण तथा मिसिलका आधारमा निर्णय गर्नुपर्ने उनले बताए ।
‘हरेक प्राणी एउटा राजनीतिक आइडियोलोजी बोकेर हिँडेको हुन्छ, तर म अदालतमा आइसकेपछि राजनीतिको चप्पल बाहिरै खोलेको छु,’ उनले भने, ‘न्यायाधीश भएपछि म राजनीति गर्दिनँ र गर्नु पनि हुँदैन । राजनीतिको चप्पललाई टाढै राख्नुपर्छ । बेन्चमा बसेपछि राजनीति कता के भन्ने सबै कुरा बाहिर हुँदो रहेछ । खाली प्रमाण के छ, मिसिल के छ भन्ने कुराहरू मात्रै हुन्छन् ।’
उनले आफू हेटौँडामा रहँदा बागमती प्रदेशका मुख्यमन्त्रीसम्बन्धी मुद्दामा पनि राजनीतिक आग्रह नराखी कानुनी आधारमा निर्णय गरेको उदाहरण प्रस्तुत गरे । मुख्यमन्त्रीले शपथ लिइसकेको र विश्वासको मतसमेत प्राप्त गरिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्न नमिल्ने ठहर गरेको उनले बताए ।
सुनुवाइका क्रममा एमाले सांसद पद्मा अर्यालले भने एउटै मुद्दामा न्यायाधीशहरूबाट फरक–फरक राय आउनुको कारणबारे प्रश्न उठाएकी थिइन् । त्यसको जवाफमा पाण्डेले न्यायाधीशले तत्काल उपलब्ध प्रमाणका आधारमा आ–आफ्नो राय दिने र बहुमत वा तेस्रो न्यायाधीशको रायअनुसार अन्तिम निर्णय हुने प्रक्रियाबारे स्पष्ट पारेका थिए ।




