देश

प्राविधिक अध्ययनका आधारमा बाढी नियन्त्रणको योजना बनाइनुपर्छः सभापति लामिछाने

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट नारायणगढ बजार तथा आसपासका बस्तीमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि प्राविधिक अध्ययनका आधारमा तत्काल र दीर्घकालीन योजना अघि बढाइने बताएका छन्।

नारायणी नदी किनारमा रहेको गौरेश्वर पशुपति मन्दिर क्षेत्रको निरीक्षणपछि मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै उनले प्राविधिक अध्ययनबिना हचुवाका भरमा निर्णय गर्न नहुने बताएका हुन्।

लामिछानेले नदी कटानको जोखिमबारे जानकारी पाएलगत्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग समन्वय गरी प्राविधिक टोली परिचालन गरिएको जानकारी दिए। टोलीलाई तत्काल गर्न सकिने काम पहिचान गर्नुका साथै भविष्यमा आउन सक्ने ठूलो बाढीबाट नारायणगढ बजार जोगाउने दीर्घकालीन योजना तयार गर्न निर्देशन दिइएको उनले बताए।

‘प्राविधिक रूपमा कुनै पनि ठाउँलाई सुरक्षित राख्न सम्भव छ कि छैन भन्ने ठूलो कुरा हो,’ उनले भने, ‘प्राविधिक अध्ययनविना हचुवाको भरमा गरिएको निर्णयले कसैलाई पनि फाइदा गर्दैन।’

उनले बाढीको जोखिम न्यूनीकरण गर्दा स्थानीयवासीको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
‘यो क्रेडिट लिने कुरा होइन, यो ज्यान बचाउने कुरा हो,’ लामिछानेले भने।

भविष्यमा अहिलेको भन्दा ठूलो बाढी आउन सक्ने अवस्थालाई समेत ध्यानमा राखेर नारायणगढ बजारको सुरक्षा योजना बनाउनुपर्ने उनको भनाइ थियो। साथै, प्राविधिक टोलीबाट प्राप्त सुझाव सबै पक्षले पालना गर्नुपर्नेमा उनले जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *