देश

अवैध नदी दोहन गर्ने ७० सवारी कारबाहीमा

बागलुङ । बागलुङमा तीन वर्षमा अवैध नदीजन्य पदार्थ दोहन गर्ने ७० सवारीसाधन कारबाहीमा परेका छन् । पछिल्लो तीन आर्थिक वर्षमा जिल्लाका विभिन्न नदीमा अवैध दोहन गर्ने सवारीसाधन कारबाहीमा परेका हुन् ।

बागलुङ नगरपालिकाअन्तर्गत पर्ने कालीगण्डकी नदी, गलकोट नगरपालिकाअन्तर्गत पर्ने दरमखोला, बडिगाड गाउँपालिकाअन्तर्गत पर्ने बडिगाड खोला र ढोरपाटन नगरपालिकाअन्तर्गत पर्ने विभिन्न खोलाबाट अवैध रूपमा उत्खनन् गरिएको ढुङ्गा, गिटी र बालुवा लोड गरिएका टिपर, ट्याक्टर, स्काभेटर, डोजर र जेसिबी कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक यामनारायण अर्यालले बताए ।

प्रहरीले नियन्त्रणमा लिएर पठाएका दोहनमा संलग्न सवारीसाधनलाई स्थानीय तहले निश्चित राजस्व लिएर छोड्ने गरेका छन् । नियन्त्रणमा लिएका सवारीसाधनलाई दोहनबाट भएको क्षतिको अनुमान गरेर स्थानीय तहले तोकेको न्यूनतमदेखि अधिकतम जरिवाना गर्ने गरिन्छ ।

आव २०८०/८१ मा बागलुङ नगरपालिकाअन्तर्गत सबैभन्दा बढी २१ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ढोरपाटन नगरपालिकामा १४ र बडिगाड गाउँपालिकामा चार वटा सवारी कारबाहीमा परेका छन् । कारबाहीमा परेका ती सवारीसाधनबाट तीन वटा स्थानीयतहले रु एक लाख ५७ हजार २८० राजस्व प्राप्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *