काठमाडौं । वडा अधिवेशन पुस ११ र पालिका अधिवेशन माघ १५ गते, तल्लो तहबाटै ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने निर्णय
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिरमा गर्ने भनिएको महाधिवेशन स्थगित गरेको छ। पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले स्थानीय तह निर्वाचनअघि केन्द्रीय महाधिवेशन नगर्ने निर्णय गरेको हो।
बैठकले केन्द्रीय महाधिवेशनसहित जिल्ला र प्रदेश अधिवेशन स्थानीय तह निर्वाचनपछि गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। महाधिवेशनको मिति पछि सारिए पनि पार्टीले तल्लो तहको सङ्गठनात्मक गतिविधि भने अघि बढाउने भएको छ।
ज्वालाका अनुसार बैठकले आगामी पुस ११ गते वडा अधिवेशन र माघ १५ गते पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको छ। स्थानीय तहबाटै पार्टी संरचनालाई व्यवस्थित गर्दै निर्वाचनपछि माथिल्लो तहका अधिवेशन गर्ने नेकपाको तयारी छ।
नेकपाले पार्टीका विभिन्न तहमा युवाको सहभागिता बढाउने निर्णयसमेत गरेको छ। बैठकले तल्लो तहबाटै ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने नीति अघि सारेको बताइएको छ। जेनजी आन्दोलनपछि राजनीतिक दलभित्र नेतृत्व पुस्तान्तरण र युवाको प्रतिनिधित्वको विषयले महत्त्व पाउँदै आएको छ। यही पृष्ठभूमिमा नेकपाले युवालाई प्राथमिकता दिने निर्णय गरे पनि केन्द्रीय नेतृत्व परिवर्तनको प्रक्रिया भने स्थानीय तह निर्वाचनपछि मात्रै अघि बढ्ने भएको छ।
गत वर्ष भदौमा भएको जेनजी आन्दोलनपछि नेकपासहित परम्परागत राजनीतिक दलहरूमा नेतृत्व पुस्तान्तरणको बहस चर्किएको थियो। पार्टीभित्रै महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने माग उठेपछि नेकपाले निर्वाचनपछि महाधिवेशन गर्ने बताउँदै आएको थियो।
निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको पार्टीले पुनः मंसिरमा महाधिवेशन गर्ने तयारी गरेको थियो। तर, पछिल्लो बैठकले उक्त योजनाबाट पछि हट्दै स्थानीय तह निर्वाचनपछि मात्रै केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै तत्काल नेतृत्व परिवर्तन चाहने युवा नेताहरूको माग भने सम्बोधन हुन बाँकी रहने देखिएको छ।
नेपाली कांग्रेसको महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको घटनालाई ‘क्रमभंग’ भन्दै प्रशंसा गरेका नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नै पार्टीमा नेतृत्व पुस्तान्तरणको बहस अघि नबढाएको भन्दै प्रश्न उठ्ने गरेको छ। नेकपाका केही युवा नेताहरूले तत्काल महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने माग राख्दै आएका छन्। तर, पार्टीको पछिल्लो निर्णयले नेतृत्व चयनको विषयलाई स्थानीय तह निर्वाचनपछि धकेलेको छ।
वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै नेकपाले सङ्गठनात्मक गतिविधि अघि बढाउने देखिए पनि नेतृत्व पुस्तान्तरणको बहस र त्यसको कार्यान्वयन भने आगामी महाधिवेशनसम्मका लागि प्रतीक्षाको विषय बनेको छ।




