काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणका आधारमा नभई योग्यता र क्षमताका आधारमा सिफारिस भएको दाबी गरेकी छन्। संसदीय सुनुवाइका क्रममा सांसदहरूले उनको सिफारिस आरक्षणसँग सम्बन्धित रहेको विषय उठाएपछि झाले आफ्नो शैक्षिक योग्यता र क्षमताको आधारमा मूल्याङ्कन गर्न आग्रह गरेकी हुन्।
सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले आफू आरक्षणको पक्षमा नरहेको धारणा राख्दै अवसर योग्यता र क्षमताका आधारमा प्राप्त हुनुपर्ने मान्यता राख्ने बताइन्। आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कूटनीतिसम्बन्धी विषयमा उच्च शिक्षा हासिल गरेको जानकारी दिँदै झाले विद्यावारिधिसम्मको अध्ययनले आफूलाई जिम्मेवारी सम्हाल्न सक्षम बनाएको जिकिर गरिन्।
‘म आफ्नो शैक्षिक योग्यता, क्षमता र अनुभवप्रति विश्वस्त छु। सार्वजनिक विषयमा लेखन र विश्लेषणमार्फत पनि योगदान दिँदै आएकी छु। मेरो नियुक्तिलाई योग्यताकै आधारमा मूल्याङ्कन गरियोस्,’ उनले समितिमा आफ्नो धारणा राख्दै भनिन्। झाले कूटनीतिक क्षेत्रमा प्रत्यक्ष काम गरेको अनुभवको कमी भने स्वीकार गरेकी छन्। यद्यपि, आफूले हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोडेर जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने उनको विश्वास छ। उनले सकारात्मक सोच, सिक्ने इच्छाशक्ति र दृढ प्रतिबद्धताका साथ नेपाल तथा श्रीलंकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।
प्रस्तावित राजदूत झाले संसदीय सुनुवाइ समितिसमक्ष आफ्नो शैक्षिक पृष्ठभूमि र क्षमताबारे स्पष्टीकरण दिँदै नियुक्तिको मूल्याङ्कन व्यक्तिगत योग्यता र दक्षताका आधारमा हुनुपर्नेमा जोड दिएकी छन्।




