देश

ठमेलमा अवैध रूपमा बस्दै आएका बंगलादेशी नागरिक नक्कली शरणार्थी परिचयपत्रसहित पक्राउ

काठमाडौं । नक्कली शरणार्थी परिचयपत्र बोकेर काठमाडौंमा बस्दै आएका एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपालको एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बंगलादेशको बरगुना स्थायी ठेगाना भएका ४३ वर्षीय सलिलकुमार मित्र रहेका छन्। उनी लामो समयदेखि काठमाडौंको ठमेल क्षेत्रमा अवैध रूपमा बस्दै आएको प्रारम्भिक विवरणमा उल्लेख छ।

विशेष सूचनाका आधारमा परिचालित सशस्त्र प्रहरीको टोलीले मित्रलाई गत असोज २२ गते पक्राउ गरेको हो। उनीसँग नक्कली शरणार्थी परिचयपत्र फेला परेको जनाइएको छ।

नक्कली परिचयपत्र कसरी तयार पारिएको थियो, त्यसको प्रयोगबाट उनले के(कस्ता सुविधा लिएका थिए र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा भने थप विवरण सार्वजनिक भएको छैन। घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

उनको साथबाट संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) को नक्कली शरणार्थी परिचयपत्र, बंगलादेशी राहदानी, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र तथा एक थान मोबाइल फोन बरामद गरिएको जनाइएको छ। सन् २०२२ जुन २ मा नेपाल आएका मित्र त्यसयता यहाँ बस्दै आएका थिए । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *