काठमाडौँ । नेपाल राष्ट्र बैंकले बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै विद्युतीय वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सङ्ख्यात्मक सीमा अस्थायी रूपमा बढाएको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बडादसैँका अवसरमा २०८३ असोज ३१ देखि कात्तिक ८ गतेसम्म तथा तिहार र छठका अवसरमा कात्तिक २१ देखि २९ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको हो ।
यसअघि भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्था थियो ।
पर्वका समयमा विद्युतीय कारोबार बढ्ने भएकाले भुक्तानी प्रक्रियालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ व्यवस्थाअन्तर्गत तोकिएको अवधिमा भएका कारोबारको सङ्ख्या र कुल रकमको विवरण सम्बन्धित भुक्तानी सेवा प्रदायकले राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।




