देश

अडियो प्रकरणमा पीडित महिलाको सुरक्षा चिन्ता, स्वर परीक्षणका लागि राखियो सर्त

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक किशोर श्रेष्ठले एक महिलासँग सम्बन्धित सार्वजनिक अडियो प्रकरणबारे सामाजिक सञ्जालमार्फत थप विवरण सार्वजनिक गरेका छन्। उनले पीडित महिलाको सुरक्षा, डिजिटल खातामाथि हुन सक्ने अनधिकृत पहुँच र अडियोको सत्यतामाथि उठेका प्रश्नबारे ध्यानाकर्षण गराएका हुन्। श्रेष्ठका अनुसार अडियो प्रकरण सार्वजनिक भएपछि ती महिलालाई घरधनीले डेरा छाड्न भनेका छन्। त्यस्तै, अघिल्लो रात करिब १ः३० बजेदेखि उनको मोबाइलमा ह्वाट्सएप र बैंक खातामा अनधिकृत पहुँचको प्रयास भएको संकेत दिने सूचनाहरू आएको दाबी गरिएको छ।

उनका अनुसार अडियो प्रकरणको प्रारम्भिक अध्ययनबाट उक्त अडियो एआईमार्फत तयार गरिएको नभएको देखिएको भनिए पनि अन्तिम निष्कर्षमा पुग्न थप परीक्षण आवश्यक छ। यसैक्रममा जनआस्थाले अडियोका सबै क्लिप लिएर गएको र निष्कर्ष निकाल्ने प्रक्रिया अघि बढाएको श्रेष्ठले उल्लेख गरेका छन्।पीडित महिलाले आफ्नो छोराको सुरक्षा र भविष्यका कारण विभिन्न कठिन परिस्थिति सहनुपरेको तथा सम्झौता गर्न बाध्य भएको जानकारी दिएको पनि श्रेष्ठको भनाइ छ।

उनले बाह्य दबाब र प्रभावबाट मुक्त रहेर आधिकारिक निकायमार्फत स्वर परीक्षण गर्न सकिने बताएका छन्। तर, त्यसका लागि सम्बन्धित महिलासहित उनका बाबुको भरपर्दो सुरक्षा सुनिश्चित हुनुपर्ने सर्त राखिएको उनले उल्लेख गरेका छन्। सुरक्षा ग्यारेन्टी भएको अवस्थामा महिलाले आफूसँग राखेका सरोकारसम्बन्धी अडियो उपलब्ध गराउन सकिने उनको भनाइ छ।

श्रेष्ठले यस प्रकरणसँग जोडेर विगतको अर्को घटनाबारे पनि प्रश्न उठाएका छन्। उनका अनुसार २०७८ सालको एक जाडोयाममा स्वयम्भू प्रहरी वृत्तमा एक महिलाको शरीरको संवेदनशील अङ्गमा आगो लगाइएको भन्दै उजुरी परेको थियो। उक्त घटनामा कारबाही प्रक्रिया अघि बढेको, मन्त्रीको गाडीसम्म प्रहरी वृत्त पुगेको र अन्ततः मिलापत्र गराइएको उनको दाबी छ।

उनले जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्तको अभिलेख शाखामा आगलागी हुँदा सम्बन्धित कागजात नष्ट भएको उल्लेख गर्दै उक्त घटनासम्बन्धी प्रहरीको आपत्कालीन नम्बर १०० मा टिपाइएको सूचनाको अभिलेख माग गर्न सूचनाको हकअन्तर्गत निवेदन दर्ता गर्ने तयारी गरेको बताएका छन्। अडियो प्रकरणमा संलग्न व्यक्तिहरू, अडियोको वास्तविकता र त्यससँग सम्बन्धित विगतका घटनाबारे स्वतन्त्र तथा आधिकारिक पुष्टि हुन बाँकी छ। पीडितको सुरक्षा सुनिश्चित गर्दै निष्पक्ष अनुसन्धान अघि बढाउनुपर्ने विषयलाई श्रेष्ठले आफ्नो सार्वजनिक अभिव्यक्तिमार्फत उठाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *