काठमाडौं । रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा क्यानडालाई २४ रनले पराजित गरेको छ। जितसँगै नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। आइतबार ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमै समेटियो।
क्यानडाका ओरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५, अखिल कुमारले अविजित ३०, श्रेयस मोभ्वा र कप्तान हम्जा तारिकले समान २६ तथा हर्ष ठाकरले १५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्। नेपालका करण केसी, ललितनारायण राजवंशी, नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालको इनिङ्समा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै १०१ रन बनाए। उनले १२७ बलको सामना गर्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरे। यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक हो।
नेपालका लागि गुल्सनकुमार झाले ४८, बसिर अहमदले ३० र अर्जुन कमालले २३ रनको योगदान गरे। रोहितले छैटौँ विकेटका लागि गुल्सनसँग ८२ रनको साझेदारी गरेका थिए। त्यसअघि उनले चौथो विकेटका लागि बसिर अहमदसँग ७७ रन जोड्दै नेपालको इनिङ्स उकासेका थिए।
क्यानडाका अखिल कुमारले चार विकेट लिए भने सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट हात पारे। यस जितसँगै नेपालले ३३ खेलबाट २६ अंक जोडेको छ। नेपाल अंकतालिकामा छैटौँ स्थानमा पुगेको छ। क्यानडा भने ३४ खेलमा २५ अंकसहित सातौँ स्थानमा झरेको छ। शृंखलाअन्तर्गत नेपालले आगामी मंगलबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ भने क्यानडाले बिहीबार ओमानको सामना गर्नेछ।




