देश

पोखराको स्कुल बस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

गण्डकी । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा भएको स्कुल बस दुर्घटनामा परी मृत्यु भएका तीन जना र घाइतेहरूको पहिचान खुलेको छ ।

दुर्घटनामा कालिका इङ्लिस बोर्डिङ स्कुलका छात्रा ममता तिवारी र छात्र असिम कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

त्यस्तै, बसमा लिफ्ट मागेर यात्रा गरिरहेका स्थानीय ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा ज्यान गएको उनले बताए । दुर्घटनामा मृत्यु भएका थप दुई जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पोखरा महानगरपालिका–२८ की १६ वर्षीया सृष्टि तिवारी, सोही ठाउँका १६ वर्षीय शिसन थापा मगर, १६ वर्षीय सौगात तिमिल्सिना, १५ वर्षीया अस्मी कँडेल, १४ वर्षीया स्नेहा गौतम, १३ वर्षीया सोनिया तिवारी र १३ वर्षीय अङ्कित पराजुली घाइते भएका छन् ।

यस्तै, मादी गाउँपालिका–१२ की १५ वर्षीया स्मृति खत्री, १६ वर्षीया स्नेहा तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया सुप्रिया आचार्य, १६ वर्षीय यमन मगर र बस चालक पोखरा महानगरपालिका–१५ का ५७ वर्षीय तुलबहादुर गुरुङ पनि घाइते भएका छन् ।

घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *