काठमाडौँ । नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टी सभापति पदमा आफ्नो उम्मेदवारी यथावत् रहेको स्पष्ट पारेका छन् ।
सभापति पदको उम्मेदवारी फिर्ता लिने विषयमा आफूले सहमति जनाएको चर्चा भइरहेका बेला खड्गीले त्यस्तो सहमति नभएको बताएका हुन् । उनले आफूलाई वार्तामा सहभागी हुन प्रस्ताव आए पनि त्यसलाई स्वीकार नगरेको स्पष्ट पारे ।
खड्गीले भने, ‘मलाई वार्तामा बसौँ भनेर प्रस्ताव आएको हो । तर मैले मानिनँ । मेरो उम्मेदवारी कायमै छ, कायमै रहन्छ ।’
कांग्रेस सभापति पदमा खड्गीसहित गगनकुमार थापा प्रतिस्पर्धामा छन् । सभापति पदमै उम्मेदवारी दिएका किशोरसिंह राठौरले भने यसअघि नै उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
यससँगै कांग्रेसको सभापति पदका लागि खड्गी र थापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुँदैछ ।




