देश

गगन थापाको घोषणा– प्रक्रिया पूरा गरेकाले मात्रै कांग्रेसबाट टिकट पाउने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि निर्वाचन ब्युरो गठन गर्ने बताएका छन् ।

कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति थापाले केन्द्रीय कार्यालयअन्तर्गत निर्वाचन ब्युरो गठन गरी त्यसैमार्फत उम्मेदवार छनोट गरिने जानकारी दिए ।

उनले उम्मेदवार बन्न कांग्रेसको लिडरसिप एकेडेमीबाट सम्बन्धित कोर्स अनिवार्य रूपमा पूरा गरेको हुनुपर्ने बताए । आगामी स्थानीय तहको निर्वाचनमा ७५३ पालिकामध्ये कम्तीमा १०० पालिकामा महिला मेयर वा अध्यक्षलाई उम्मेदवार बनाउने आफ्नो सोच रहेको पनि उनले सुनाए ।

सभापति थापाले कांग्रेसमा अब ‘आफ्नो मान्छे’ वा पैसा लिएर टिकट दिने परम्परा अन्त्य हुने दाबी गरे । निश्चित प्रक्रिया पूरा गर्ने व्यक्तिले मात्रै पार्टीबाट उम्मेदवारीको टिकट पाउने उनको भनाइ थियो ।

बन्दसत्रलाई सम्बोधन गर्दै थापाले राज्य नागरिकप्रति संवेदनशील र करुणामय हुनुपर्ने बताए । सुकुम्बासी बस्ती हटाउने क्रममा नागरिकको अवस्था र आवश्यकतालाई बेवास्ता गर्न नहुने भन्दै उनले राज्यले नागरिकका दुःख र समस्यालाई समेत बुझ्नुपर्ने धारणा राखे ।
नेपालको सांस्कृतिक पहिचान र चाडपर्वसँग राज्य जोडिनुपर्नेमा जोड दिँदै थापाले बजार, निजी क्षेत्र र सरकारको भूमिकाबारे पनि राजनीतिक प्रतिवेदनमा चर्चा गरिएको जानकारी दिए ।

बन्दसत्रमा सभापति थापाको राजनीतिक प्रतिवेदनसँगै महामन्त्री प्रदीप पौडेलको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमाथि छलफल भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *